चितवन, ४ असार । आज देशैभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशमा सामान्य बदली (अकाशमा बादल) रही देशका बाँकी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। यस क्रममा कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशका बाँकी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बागमती प्रदेशअन्तर्गत आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। ‘काठमाडौं उपत्यकामा तत्कालभन्दा अपराह्नपछि अलि बढी वर्षाको सम्भावना छ’, उनले भनिन्।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का तथा १० देखि माथि ५० देखि मुनि मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
यस्तै आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थान तथा बाँकी भूभागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका बाँकी भूभागका एकरदुई स्थान भन्नाले तोकिएका प्रदेशबाहेकका जुनसुकै ठाउँमा वर्षाको सम्भावना देखिनु हो। यसको अर्थ आज देशैभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ।
मौसमविद् मानन्धरका अनुसार केही दिनदेखि उखरमाउलो गर्मी भइरहेको मध्य तथा पश्चिम तराईमा पनि अहिले तापक्रम केही घटेको छ। भारतमा रहेको बिपरजोय नामको चक्रवातको प्रभावले मध्य तथा पश्चिम तराईमा पनि मौसम बदली भएकाले गर्मीमा केही राहत भएको हो। ‘त्यता वर्षा नभए पनि बादल लाग्ने क्रम बढेको छ, जसले गर्दा तापक्रम केही मात्रामा घटेको छ’, उनले भनिन्, ‘आज त्यता कतै कतै छिटपुट वर्षा पनि हुनसक्छ।’
उनका अनुसार मनसुन -वर्षा गराउने मौसमी प्रणाली) अझै गण्डकी प्रदशेबाट पश्चिम अघि बढ्न सकेको छैन। ‘त्यही चक्रवातका कारण मनसुन अहिलेसम्म त्यता जान सकेको छैन’, उनले भनिन्, ‘अब आउने २१/२२ तारिखतिर त्यसको असर हट्ने र मनसुन प्रवेश गर्ने सम्भावना देखिएको छ।’ मनसुन प्रवेश गरेपछि भने गण्डकीदेखि पश्चिमका क्षेत्रमा पनि प्रशस्त वर्षा हुने सम्भावना हुन्छ।–00–


