कालिका, ३ असार । कालिका नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्रको पर्यटन र धर्म संस्कृतिलाई पनि प्राथमिकतामा राखेको छ।
आफ्नो ठाउँ, आफ्नो रोजगार, पर्यटन मार्फत जीवनस्तर सुधार गर्ने रणनीति लिई कालिका नगरपालिकालाई सुन्दर, सुरक्षित, रमणीय, पर्यटकमैत्री, आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने नगरपालिकाको नीति छ ।
नगरक्षेत्रभित्रका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको पहिचान, संरक्षण विकास र प्रभावकारी प्रचारप्रसारगर्न पर्यटन गुरुयोजना तयारगरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कालिका मन्दिर, ढोकुन थार्वालिङ्ग गुम्बा, गैरीबारी झरना, सिन्ति झरना, चित्राम झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ । धार्मिक तथा पर्यटकीय क्षेत्र सम्म पुग्न नक्शाङ्कन,पहुच मार्ग र संकेत चिन्ह, पर्यटक सूचना पाटी राखी त्यस्ता स्थल सम्मको पहुँच सहज बनाइने भनिएको छ । यस्तै पर्यापर्यटन र सहासिक पर्यटन लक्षितगरी होमस्टे संचालन गर्न प्रोत्साहित गरिनेछ । होमस्टे संचालकहरुलाई व्यवस्थापन तथा पाककला र पर्यटक गाईड सम्बन्धि तालिम दिइने नीति तथा कार्यक्रम छ ।
चितवनकै अग्लो तथा सूर्याेदय हेर्न प्रख्यात सिराईचुली र उपरदाङगढी जाने पहुँचमार्गको स्तरोन्ती गर्नका साथै सामुदायिक घरबास संचालनगर्न प्रोत्साहित गरिनेछ । साहसिक पर्यटनलाई प्रर्वद्धनगर्न उपरदाङगढी देखि गैरीबारी झरना सम्म ट्रेकिङ तथा साइकल ट्रेल निर्माण गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
सौराहा, देवघाट आउने पर्यटकलाई बैकल्पिक पर्यटकीय गन्तव्यको रुपमा कालिकामा आकर्षितगर्न सौराहा, नारायणी नदी किनार र देवघाटमा कालिकाको पर्यटकीय गन्तव्यहरुको प्रचार सामग्री राखिने मेयर विनोद रेग्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।–00–


