राजनीतिक गतिविधिमा संलग्न अमेरिकी नागरिक नेपालबाट डिपोर्ट

काठमाडौं, २ वैशाख  । नेपालमा रहँदै राजनीतिक गतिविधिमा संलग्न अमेरिकी नागरिक जुलियन किर्पाललाई नेपाल सरकारले देश निकाला गरेको छ। मंगलबार साँझ ४:२७ बजे एयर इन्डियाको उडानमार्फत उनलाई दिल्ली हुँदै अमेरिका फर्काइएको हो।

५८ वर्षीय किर्पाल राजसंस्थाको पक्षमा नाराबाजी तथा पम्पलेट प्रदर्शन गर्ने क्रममा गत चैत १४ गते माइतीघरबाट पक्राउ परेका थिए। पर्यटक भिसामा नेपाल बस्दै आएका किर्पाल पछिल्लो समय राजावादी समूहहरूसँग नियमित रूपमा सम्पर्कमा रहेको स्रोतले जनाएको छ।

गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा आगामी दुई वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गर्दै निष्कासन (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाएको थियो। पक्राउपछि अध्यागमन विभागमार्फत अनुसन्धानपश्चात उनलाई देश निकाला गरिएको हो।

नेपालको प्रचलित कानुन अनुसार विदेशी नागरिकले पर्यटक भिसामा रहँदा कुनै पनि प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था रहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु