काठमाडौँ, १८ जेठ । १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले समझदारीपत्र आदानप्रदान गरे ।नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार समझदारी पत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने उल्लेख छ । त्यस्तै, मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको उनले बताए ।
‘यी तीन परियोजनाको लागत करिब १७ अर्ब रुपैयाँ पर्छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘तीन वटै परियोजना भारतले बनाइदिने हो ।’ समझदारीपत्र अनुसार अबको ६ महिनाभित्र सबै गृहकार्य गर्नुपर्छ । निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख छ । ‘करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी समझदारी भएको छ,’ उनले भने । २०२० को डिसेम्बरमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमको संयूक्त टोलीले गरेको अध्ययन अनुसार दुई वटा पाइपलाइन र एउटा टर्मिनल बनाउन लागत १७ अर्ब लाग्ने निष्कर्ष निकालेको थियो ।–00–


