जुटपानी खानेपानीमा चुनाव हुँदै १३ गते निर्वाचन – अध्यक्षमा सवै दलको दावी

चितवन । चितवनको कालिका नगरपालिकामा रहेको जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा निर्वाचन हुने भएको छ । आगामी कार्यकालको लागि नेतृत्व छनौट गर्न निर्वाचन हुने भएको हो ।

बैशाख १६ गते भएको नवौँ साधारण सभा र तेश्रो अधिवेशनमा नेतृत्व छनौटमा सहमती हुन नसकेपछि निर्वाचन प्रकृया सुरु भएको निर्वाचन समितिका सदस्य दशरथ सापकोटाले जानकारी दिनुभयो । जेठ १३ गते हुने निर्वाचन प्रकृयालाई सहजीकरण गर्न लालु प्रसाद दाहालको संयोजकत्वमा दशरथ सापकोटा, राजन रेग्मी, दुर्गा रायमाझी र कृष्ण अधिकारी रहेको निर्वाचन समिति गठन गरिएको जुटपानी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष होम बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

निर्वाचनका लागि मतदाताको अन्तीम नामावली प्रकशन भइसकेको जानकारी सापकोटाले दिनुभयो । २३६० मतदाताले निर्वाचनमा सहभागी हुन पाउने भएकाछन् । खानेपानी धार जोडेका उपभोक्ताहरु मध्य एक धारालाई एक मतदाताको रुपमा लिइएको छ । सहमतीमा नेतृत्व छनौटका लागि प्रयास भएपनि दलहरुका विचमा सहमति हुन सकेको छैन । पछिल्लो जानकारी अनुसार सवै दलले प्यानल बनाएर निर्वाचनमा सहभागी हुने तयारी गरेकाछन् । केही दिन अझै बाँकी भएकाले दलहरुले सहमतीमै नेतृत्व छनौटको प्रयास गरिरहेकाछन् ।

निर्वाचनका लागि समितिले निर्वाचन तालिका सार्वजानिक गरेको छ । ७ गते विहान १० वजेदेखि वेलुका ४ बजेसम्म मनोनयन दर्ता,साँझ ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकशन गर्ने तालिका रहेको छ । ८ गते विहान १० वजे देखि ११ बजेसम्म उम्मेदवार उपर दावी विरोध, दिउसो १२ वजेदेखि २ बजेसम्म उम्मेदवारको दावी विरोधका बिषयमा छलफल, ३ बजे उम्मेदवारको दोश्रो नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको संयोजक लालु प्रसाद दाहालले जानकारी दिनुभयो ।

यसैगरी ९ गते विहान १० देखि ११ गते विहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ । ११ गते १२ बजे उम्मेदवारको अन्तीम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सोही दिन १ बजेबाट मौन अवधी सुरु हुने र १३ गते ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको दहालले बताउनुभयो । २०६५ सालमा स्थापना भएको जुटपानी खानेपानी तथा सरसफाई उभोक्ता संस्थाले कालिका नगरपालिका वडा नं. १,६,७ र २ को केही भागका साथै ८को कालिका मन्दिर भन्दा तलको भागका उपभोक्तालाई खानेपानीको सेवा दिदैँ आएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु