भरतपुर, २४ साउन ।
चितवन उद्योग वाणिज्य संघको सभाहलमा देउखुरी उद्योग वाणिज्य संघको भ्रमण टोली र चितवन उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिहरू व्यावसायिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
दुई संघबीच आपसी समन्वय, व्यावसायिक हित, तथा संस्थागत विकासका विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले भ्रमण टोलीलाई स्वागत गर्दै स्थानीय उद्योग–व्यवसायको वर्तमान अवस्था, उद्योगी–व्यवसायीका समस्या र चितवन उद्योग वाणिज्य संघले गर्दै आएका गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले दुई संघहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उद्योगी–व्यवसायीका साझा मुद्दाहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्रको सशक्तिकरण र संघ–संस्था बीचको आपसी सिकाइ तथा अनुभव आदानप्रदानको महत्वबारे बताउँदै उहाँले नेपाल उद्योग वाणिज्य संघले कार्यान्वयनका लागि ल्यएको योजनाका बारेमा जानकारी गराउनुभयो ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले न्यानो स्वागत तथा आतिथ्यताका लागि धन्यवाद ज्ञापन गर्दै भ्रमणका क्रममा हासिल भएका अनुभव र सिकाइले देउखुरी उद्योग वाणिज्य संघको आगामी कार्यदिशामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आफ्नो संघका क्रियाकलापका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, संघका कार्यसमिति सदस्यहरु लगायत देउखुरी उद्योग वाणिज्य संघको पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्या चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन समापन गर्नुभएको कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो।


