नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।
उनले बुधबार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।
“विभिन्न सञ्चार माध्याममा सार्वजनिक गरिएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,” आरजु राणाले दर्ता गरेको निवेदनमा भनिएको छ ।


