काठमाडौं, २२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दै छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।
बैठक बेलुका ५ बजे काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन्।
यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । तर,पुरानै सहमतिअनुसार मन्त्रालय पाए सरकारमा जाने रास्वपाले जनाएको छ। –00–


