एसिया कपमा छनोट हुन नेपाललाई ११८ रनको लक्ष्य

काठमाडौँ, वैशाख १९

बर्षाको कारणले रोकिएको बाकी खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स यूएई बाट ११८ रनको लक्ष्य पाएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा टस हारेपछि ब्याटिङमा आएको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

फाइनल खेल सोमबार सुरु भए पनि लगातार वर्षाका कारण खेल मंगलबारलाई सरेको थियो । सोमबार यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउदा वर्षा भएपछि खेल रोकिएको थियो । मंगलबार सोही अवस्थाबाट खेल सुरु भए पनि यूएईले स्कोरबोर्डमा ११ रनमात्र थप्न सक्यो ।

यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाए । अन्तिममा जुनैद सिद्दिकीले १० रन थपे । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईविरुद्ध सस्तैमा समेट्न कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले चार विकेट लिएका थिए । ७.१ ओभर बलिङ गरेका ललितले दुई मेडन राख्द १४ रनमात्र खर्चिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

सोमबार वर्षाले निकै प्रभावित बनेको खेल दुई पटक रोकिएको थियो । त्रिवि क्रिकेट मैदानमा यूएईले १६ ओभरमा पाँच विकेट गुमाएर ६० रन जोड्दा वर्षा भएपछि पहिलोपटक खेल रोकिएको थियो । त्यसबेला खेल वर्षाका कारण आधा घण्टा रोकिएको थियो । यस्तै, २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पुनः वर्षा भएपछि खेल दोस्रोपटक रोकिएको थियो ।

Share:

सम्बन्धित समाचारहरु