‘पत्रकारमा राजनीतिक गन्ध आउन हुँदैन’ – अध्यक्ष गुरुङ

बबिलाल तामाङ
चितवन, १३ फागुन । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले पत्रकारमा राजनीतिक गन्ध आउन नहुने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० चितवनको नवौं साधारणसभा तथा जिल्ला भेलाको उद्घाटन कार्यक्रममा सो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष गुरुङले जनजाति पत्रकारहरुले विशेष गरेर जनजातिको मुद्दाहरूलाई उठानमा जोड दिनु पर्ने जिकिर गरे । उनले भाषा, सँस्कृति, धर्म, रीतिरिवाज लगायतको विषयमा जनजाति पत्रकारलाई कलम चलाउन आग्रह गरे ।

फोनिज चितवनलाई पालिकाबाट गर्नुपर्ने सहयोगको लागि सदैब तयार रहेको भनाइ थियो । सबै पत्रकारलाई समान रूपले हेरिनुपर्ने र जनजाति पत्रकारहरुलाई पनि कुनै कुरामा कमी नभएको आभाष दिलाए ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जनजाति पत्रकारहरूले मुख्य रूपमा जनजातिकै विषयमा खोजी गर्नुपर्ने बताए । जनजातिको भाषा, धर्म, संस्कृति, रहनसहन, पोषाक लगायतको विषयमा खोजमुलक लेखहरू लेख्न अध्यक्ष थापाले आग्रह गरे ।
उनले इच्छाकामनामा जनजातिहरुको बाहुल्यता बढी रहे तापनि राज्यबाट पाउने सेवा सुविधाबाट टाढा रहेको जिकिर गरे । जनजातिमा अहिलेसम्म पनि आफैँमा समता छैन, जबसम्म समानता आफैँमा हुदैँन तबसम्म जनजाति कुनै पनि ठाउँमा अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
यसैबीच संस्थागत गतिविधि समेट्दै ‘फोनिज बुलेटिन’को विमोचन गरिएको थियो । उक्त बुलेटिन फोनिजले दोस्रो पटक प्रकाशन गरेको हो भने यसअघि ‘फोनिज सन्देश’ नामक स्मारिका प्रकाशनमा ल्याएको थियो ।
कार्यक्रममा चितवनका दुई जना पत्रकारहरू सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कायाकैरनका कार्यकारी सम्पादक सूर्यप्रकाश कँडेल र नारायणी अनलाइनका प्रधान सम्पादक राजु चौधरी रहेका छन् । उनीहरु दुबैलाई पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं। ७ का अध्यक्ष बमबहादुर मगर, फोनिज बागमती प्रदेशका उपाध्यक्ष राजेश रुम्बा लामा, नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, प्रेस युनियनका नेपाल चितवनका अध्यक्ष अनिल ढकाल, फोनिज चितवनका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठलगायतले मन्तव्य दिएका थिए ।
फोनिजका उपाध्यक्ष तुलमान गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता फोनिजका अध्यक्ष अध्यक्ष रमेश राना मगरले गरेका थिए भने संचालन सहसचिव सविता दराईले गरेकी हुन् । फोनिज चितवनले इच्छाकामना ७ स्थित स्याङ्दीमा रहेको चण्डीथान सामुदायिक वन उपभोक्ता समिति कार्यालयको सभाहलमा शुक्रबार साधारण सभा सम्पन्न गरेको हो ।

Share:

सम्बन्धित समाचारहरु