काठमाडौंं २, फागुन । कुशल भुर्तेलले कीर्तिमानी इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध कीर्तिमानी विजय हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४७।४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सफलतापूर्वक पूरा गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि सन् २०१९ मा कीर्तिपुरमै युनाइटेड अरब इमिरेट्स ९यूएई०ले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।
नेपाललाई कीर्तिमानी जित दिलाउन ओपनर कुशल भुर्तेलले ११५ रन बनाए । कुशलले ११३ बलमा १० चौका र चार छक्का प्रहार गरे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ७६ बलमा सात चौका र तीन छक्कासहित ७२ रन बनाए ।नेपालका लागि सन्दीप जोराले २९, ज्ञानेन्द्र मल्लले २५, दीपेन्द्रसिंह ऐरीले सात र कुशल मल्लले ६ रन बनाउँदा अर्का ओपनर आसिफ शेख भने डक आउट भए । करण केसी २० र सोमपाल कामी चार रनमा अविजित रहे ।
नामिबियाका रुबेन ट्रम्पेलम्यान र यान निकोल लोफ्टी इटोनले समान तीन विकेट लिए । बर्नार्ड स्कल्ज र टाङ्गेनी लुङ्गामेनीले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनायो । नामिबियाका माइकल भान लिगेनले १३७ बलमा नौ चौका र पाँच छक्कासहित १३३ रन बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका लिगेनको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर पनि हो ।
कप्तान जेरार्ड इरास्मसले ५६ रन बनाए । लिगेनले तेस्रो विकेटका लागि कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । यसबाहेक जन ग्रिनले ३४, कार्ल बिर्केनस्टोक र जान फ्राइलिङ्कले समान १३ रन जोड्दा रुबेन ट्रम्पेलम्यानले ११ रन थपे ।
नेपालका करण केसीले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ६१ रन खर्चिए । ६ महिनापछि राष्ट्रिय टिममा ‘कमब्याक’ गरेका सन्दीप लामिछानेले तीन विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले समान एक विकेट लिए ।
जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । यस्तै, ३१ खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक जोडेको छ ।


