काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तामा अनुशासनको कमी देखिएको भन्दै राष्ट्रिय भेलामा अनुशासित भएर सहभागी हुन निर्देशन दिएका छन् ।
राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले भेलाको गरिमा कायम राख्न सबै सहभागीलाई अनुशासनमा बस्न आग्रह गरेका हुन् । उनले एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेला पनि सोहीअनुसार व्यवस्थित हुनुपर्ने बताए ।
भेलाको पहिलो दिन उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू हल छाडेर बाहिरिएको र अनधिकृत व्यक्तिहरूले समेत प्रवेश पाएको विषयप्रति असन्तुष्टि जनाउँदै ओलीले आज सहभागी तथा स्वयंसेवकलाई अनुशासन पालना गर्न कडाइका साथ निर्देशन दिएका हुन् ।
‘भेलालाई भेला जस्तो बनाउनुपर्छ । हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए । घरका मान्छेहरूले सोधे भने के गर्ने होला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ । उहाँहरूको अनुमतिमा जानुहोला । शौचका लागि नजिकै शौचालयमा जानुहोला,’ उनले भने ।
सहभागीहरू कार्यक्रम नसकिँदै बाहिरिने प्रवृत्तिप्रति टिप्पणी गर्दै ओलीले एमालेको राष्ट्रिय भेला हाटबजारजस्तो नभएको स्पष्ट पारे । भेलाको मर्यादा र अनुशासन कायम राख्न उनले नेता तथा कार्यकर्तालाई सचेत गराएका छन् ।


