काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन पालना गर्न आग्रह गरेका हुन् ।
निर्देशनमा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख छ । कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने समितिले स्पष्ट पारेको छ ।
त्यस्तै, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी निर्वाचन प्रक्रिया प्रभावित पार्न नहुने निर्देशनमा उल्लेख छ ।
पार्टीले आवेदन दिएको आधारमा आफूलाई उम्मेदवार घोषणा गर्ने वा सामाजिक सञ्जाललगायत माध्यमबाट उम्मेदवारीको प्रचारप्रसार गर्नसमेत रोक लगाएको छ । नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन र प्राथमिक निर्वाचनलगायत तोकिएका प्रक्रिया पूरा भएपछि मात्रै पार्टीले अन्तिम उम्मेदवारको निर्णय गर्ने जनाएको छ ।
अधिवेशन हुन बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका पार्टी संरचनाले अधिवेशनको तयारी गर्दा सम्बन्धित माथिल्लो तहका नेतृत्व र विभागसँग आवश्यक परामर्श तथा समन्वय गर्नुपर्ने निर्देशनमा भनिएको छ । आधिकारिक मिति र कार्यतालिका घोषणा हुनुअघि नेतृत्वका लागि उम्मेदवारी घोषणा वा प्रचार गर्न पनि पाइने छैन ।
निर्वाचन समितिले आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्ने कार्यलाई निषेध गरेको छ । आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यममा सामग्री प्रकाशित तथा साझा गर्नसमेत रोक लगाइएको छ ।
निर्देशन उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, निर्वाचन प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउने, निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने समितिले चेतावनी दिएको छ ।
यसैगरी, आचारसंहिता र आधिकारिक निर्देशनविपरीत प्रकाशित वा साझा गरिएका सामग्री तत्काल हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
पार्टीको निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार, अभिलेख र व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न पनि रास्वपाले निर्देशन दिएको छ ।



