रास्वपाको नेतृत्वबीचको समस्याले राष्ट्रिय राजनीतिमा असर पारेको छ : प्रदीप पौडेल

चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वबीचको समस्याले राष्ट्रिय राजनीतिमा समेत असर पारेको बताएका छन् । रास्वपाले जनताबाट प्राप्त गरेको विश्वासअनुसार नेतृत्वमा स्थिरता र जिम्मेवारी देखाउन नसकेको उनको आरोप छ ।

चितवन पुगेका महामन्त्री पौडेलले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै रास्वपाको नेतृत्वबीचको समस्याले संसद् र सरकारसमेत प्रभावित हुने अवस्था सिर्जना भएको बताए ।

उनले नेपालको राजनीति पूर्वाग्रह र इगो साध्ने शैलीमा अघि बढिरहेको टिप्पणी गरे । सरकार अभिभावकीय भूमिकामा रहेर सबैलाई समेट्दै अघि बढ्नुपर्नेमा प्रतिशोधको भावनाबाट प्रेरित भएको देखिएको उनको भनाइ छ ।

‘सरकार जिम्मेवार हुनुपर्छ । सबैलाई मिलाएर सरकार सञ्चालन गर्ने हो । अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरकार बदला लिने ढंगबाट अघि बढेको देखिन्छ,’ उनले भने ।

सरकारले आफ्ना कमजोरीमाथि प्रश्न उठाउनेहरूको मुख थुन्ने प्रयास गरेको आरोप लगाउँदै पौडेलले प्रेस स्वतन्त्रता पूर्ण रूपमा हनन भइरहेको बताए । सरकारलाई प्रश्न गर्नेहरूमाथि प्रतिशोध साँध्न खोजिएको र कानुनको पालना गर्नुको सट्टा उल्लंघन गर्ने प्रवृत्ति देखिएको उनले टिप्पणी गरे ।

नेपाली काँग्रेसका सभापतिमाथि लगाइएको आरोपमा कुनै आधार नभएको दाबी गर्दै उनले सार्वजनिक भएको अडियोको स्रोत, तथ्य र प्रमाणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

‘अडियो कहाँबाट र कसरी आयो ? यसको तथ्य र प्रमाण हेर्नुपर्छ । सरकारले नै ल्याएको हो कि सामाजिक सञ्जालमा आएको आधार के हो ? प्रहरीले बयान लिएको हो र ? प्रहरीले लिएको बयानका क्रममा प्रमाण भेटिएको भए प्रतिपक्षी काँग्रेसलाई सरकारले अहिलेसम्म यत्तिकै छाड्थ्यो होला र ?’ उनले प्रश्न गरे ।

सभापतिलाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति टिप्पणी गर्दै पौडेलले कानुनी प्रक्रिया पूरा नगरी गिरफ्तारीको हल्ला फैलाउनु लोकतन्त्रमाथिकै संकट भएको बताए । प्रमाण पुष्टि नभएका विषयमा गिरफ्तारीको चर्चा गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उनको भनाइ छ ।

‘यो प्रश्न गर्ने काँग्रेसलाई तर्साउन खोजिएको हो । गगन थापा नेतृत्वको काँग्रेसले हामीलाई प्रश्न गर्ने, हामीले जे पनि गर्न पाउनुपर्छ भन्ने अहंकारको स्थिति हो,’ उनले आरोप लगाए ।

काँग्रेस प्रश्न गर्नकै लागि जन्मिएको पार्टी भएको उल्लेख गर्दै पौडेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पार्टीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

हिजोको जस्तो कमजोर प्रतिपक्षी काँग्रेस नरहेको दाबी गर्दै उनले पार्टी रचनात्मक ढंगले अघि बढ्ने बताए । तर, सरकार प्रतिशोध साँध्ने शैलीमा अघि बढिरहेको भन्दै उनले यसलाई अत्यन्तै चिन्ताजनक अवस्थाको संज्ञा दिए ।

Share:

सम्बन्धित समाचारहरु