गैँडाकोटमा स्कुल बसको ठक्करबाट २४ वर्षीय मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार गैँडाकोट नगरपालिका–५ स्थित कुसुमघाटको भित्री सडकमा गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार दुर्घटनामा परी गैँडाकोट नगरपालिका–६ निवासी अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक गैँडाकोट–१ निवासी ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले बताए।

Share:

सम्बन्धित समाचारहरु