काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण टिमले चलचित्र प्रदर्शनको पहिलो दिनबाट प्राप्त हुने आफ्नो सम्पूर्ण आम्दानी भोटेकोशी क्षेत्रका बाढी तथा पहिरोपीडितलाई राहतस्वरूप प्रदान गर्ने घोषणा गरेको छ।
चलचित्रकी निर्मात्री निता ढुङ्गानाले पहिलो दिनको प्रदर्शनबाट निर्माण पक्षले प्राप्त गर्ने सम्पूर्ण हिस्सा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खर्च गरिने जानकारी दिएकी छन्।
निर्माण पक्षका अनुसार नेपाली चलचित्र उद्योगमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमको पहल पहिलो पटक गरिएको हो।
चलचित्रबाट प्राप्त हुने आम्दानीलाई विपद्पीडितको सहयोगमा समर्पित गर्ने निर्णयले दर्शक तथा शुभेच्छुकमाझ सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो घोषणाको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ। निर्मात्री ढुङ्गानाको मानवीय पहलप्रति धेरैले धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्।
मनोरञ्जन क्षेत्रलाई सामाजिक सेवासँग जोड्ने यस कदमले नेपाली चलचित्र उद्योगमा सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण स्थापित गरेको निर्माण पक्षको विश्वास छ ।


