सर्वोच्चको आदेश : पत्रकार किशोर श्रेष्ठ थुनामुक्त हुने

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो।

अदालतले श्रेष्ठलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

जनआस्था अनलाइनमा प्रकाशित समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक उल्लंघन भएको आरोपमा प्रहरीले श्रेष्ठलाई गत साउन २७ गते पक्राउ गरेको थियो। पक्राउपछि उनीमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

सर्वोच्च अदालतको आदेशमा समाचारमा प्रयोग गरिएको तस्बिर सम्बन्धित व्यक्तिले स्वयं सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको उल्लेख छ। साथै, उक्त तथ्यलाई विपक्षी पक्षले खण्डन गर्न नसकेको भन्दै अदालतले उनलाई थुनामा राखिरहनु उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ।

अदालतको आदेशसँगै पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्ने बाटो खुलेको छ।

Share:

सम्बन्धित समाचारहरु