काठमाडौं, २० असोज । असोज १७ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण देशभर विभिन्न ठाउँमा बाढी, पहिरो र जनधनको ठूलो क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ताजा विवरणअनुसार हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृतकमध्ये सबैभन्दा धेरै इलाम जिल्लामा ३७ जनाको ज्यान गएको छ। साथै रौतहटमा ३ जना, पाँचथरमा १ जना, खोटाङमा १ जना र उदयपुरमा १ जना को मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यसैबीच देशका विभिन्न स्थानमा ५ जना बेपत्ता रहेका छन्। स्याङ्जामा ४ जनालाई खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको पुष्टि भएको छ।
विपद्का घटनामा १२ जना घाइते भएका छन् — जसमा इलामका ४, भोजपुरका ३, खोटाङका ३, पाँचथरका १ र मकवानपुरका १ जना रहेका छन्।
इलामको माङसेबुङ गाउँपालिका क्षेत्रमा पहिरो र सडक अवरुद्ध हुँदा अलपत्र परेका २ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
सरकारले असोज १८ देखि २० गतेसम्मका लागि लामो दूरीका सवारी साधन सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेको छ भने उद्धार र राहतका लागि सुरक्षा निकायहरू परिचालन गरिएको छ।
अत्यधिक वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा सडक, विद्युत् र सञ्चार सेवा समेत प्रभावित भएका छन्। मौसमविद्हरूले आगामी केही दिनसम्म पनि भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।–00–


