काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्ने कार्यसूची रहेको छ।
आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, आज दुई वटा संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। समितिको बैठकमा डिजिटल अर्थतन्त्रका सम्बन्धमा छलफल हुने जनाइएको छ।
प्रतिनिधिसभाको बैठकसँगै संसदीय समितिका बैठकमा हुने छलफललाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।


