माडी,९ साउन | आगामी श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा मञ्चन हुन लागेको नाटक ‘मुनामदन’ को तयारी र प्रचारप्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ।
पोखरा थिएटर र माडी रंगमञ्चको संयुक्त आयोजनामा प्रस्तुत हुने यस नाटकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य मुनामदन लाई रंगमञ्चमा ल्याइनेछ।

सामाजिक सञ्जालमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया र अग्रिम टिकट बुकिङको मागमा वृद्धि देखिएको छ।
यसैबीच, स्थानीय बासिन्दाहरूले नाटकको प्रचारका लागि सामाजिक सञ्जालमा स्वतःस्फूर्त रूपमा पोष्ट गर्दै जनचेतना फैलाइरहेका छन्, जसले नाटकको प्रतीक्षामा थप उत्साह थपेको छ।
नाटकको रूपान्तरण र निर्देशन नाट्यकर्मी मोती बहादुर कार्की ‘परिवर्तन’ ले गरेका छन्। मञ्चनमा माडीका स्थानीय कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहनेछ, जसले नाटकको प्रस्तुतीलाई अझ समृद्ध र जीवित बनाउने छ।
प्रवेश शुल्क साधारण रु ३०० र विद्यार्थीका लागि रु २५० तोकिएको छ।
विद्यार्थी, शिक्षक, युवा, महिला समूह, साहित्यप्रेमी र स्थानीय समुदायलाई लक्षित गर्दै प्रस्तुत गरिन लागेको यो नाटकले माडीको सांस्कृतिक र रंगमञ्चीय गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


