चितवनमा विश्व आदिवासी दिवस: हजारौंको सहभागिता, १३ समुदायको सांस्कृतिक प्रस्तुति

चितवन, २४ साउन । विश्व आदिवासी दिवसको अवसरमा चितवनमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाभरका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा १३ वटा आदिवासी जनजाति समुदायले आफ्नो जातीय पहिचान झल्किने मौलिक भेषभूषा, कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। विभिन्न समुदायका युवायुवती र कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक झाँकी तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो।

उपस्थित दर्शकहरूले विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति मार्फत नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए।

दिवसको अवसरमा आदिवासी जनजाति आन्दोलन तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। महासंघ चितवनका संस्थापक अध्यक्ष ओम गौचन र पूर्व अध्यक्ष पदमबहादुर गुरुङलाई संस्थाको विकास, विस्तार तथा आदिवासी जनजाति अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

त्यसैगरी, महासंघको संस्थागत जिम्मेवारी निर्वाह तथा संगठन सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै महासंघका उपाध्यक्ष राजकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी प्रोत्साहन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आदिवासी जनजाति समुदायलाई नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण आधारस्तम्भको रूपमा चित्रण गर्दै उनीहरूको भाषा, कला, संस्कृति, भेषभूषा, परम्परा र संस्कारको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए।

उनले आदिवासी जनजाति समुदाय देशको गहना भएको उल्लेख गर्दै विविधताभित्रको एकताले नेपालको पहिचानलाई अझ समृद्ध बनाएको धारणा राखे। कार्यवाहक प्रमुख अधिकारीले भरतपुर महानगरपालिका आदिवासी जनजाति समुदायको हरेक सुख-दुःखमा साथ रहने र समुदायका हक, अधिकार तथा सांस्कृतिक संरक्षणका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघका उपाध्यक्ष बाबुलाल थिङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनकी अध्यक्ष शोभा थापा मगर, महासंघका संस्थापक अध्यक्ष ओम गौचन, नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेशका अध्यक्ष काजीमान थिङ तामाङ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य विष्णु भुजेल तथा ठाकुर सिंह आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, ज्ञान, सीप तथा परम्परागत जीवनशैली नेपालको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र पुस्तान्तरणमा राज्यले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे। उनीहरूले आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र सहभागिताको सुनिश्चितता लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार भएको पनि बताए।

नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न आदिवासी जनजाति समुदायका एक हजारभन्दा बढी प्रतिनिधि तथा सर्वसाधारण सहभागी भएका थिए। आ–आफ्नो मौलिक भेषभूषामा सजिएका सहभागीहरूको उपस्थितिले कार्यक्रम स्थल रंगीन र सांस्कृतिक विविधताले भरिपूर्ण बनेको थियो।

विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमले आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान संरक्षण, अन्तरसमुदायिक सद्भाव प्रवर्द्धन तथा आदिवासी अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु