माडी, १३ साउन । माडी नगरपालिका–९, भालुखोला स्थित जनजागृति आधारभूत विद्यालयमा शिक्षक छनोट प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्र नं. १, माडीले माडी नगरपालिकाको शिक्षा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ।
थाकस माडीका सभापति सुक्रमी चौधरीका अनुसार शिक्षक छनोटका लागि तीन जनाको आवेदन परेको थियो। प्रारम्भिक लिखित परीक्षामा सफल भएका उम्मेदवारलाई अनुत्तीर्ण गराउने उद्देश्यले पुनः परीक्षा सञ्चालन गरिएको तथा परीक्षा प्रक्रिया मनोमानी ढंगले अघि बढाइएको आरोप उहाँले लगाउनुभयो।
यसैबीच माडी नगरपालिका–१, भालुखोला स्थित जनजागृति आधारभूत विद्यालयमा सम्पन्न शिक्षक छनोट प्रक्रियामा अनियमितता भएको भन्दै थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडी चितवनले गम्भीर ध्यानाकर्षण जनाएको छ। उक्त संस्थाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक छनोट प्रक्रियाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो।
सभाले योग्य, सक्षम र प्रतिस्पर्धी उम्मेदवारलाई समान अवसर प्रदान गर्नुपर्ने अवस्थामा छनोट प्रक्रियामा अपारदर्शी र शंकास्पद गतिविधि भएको जनगुनासो आएको जनाएको छ। यस्ता गतिविधिले विद्यालयप्रति नागरिकको विश्वास कमजोर बनाउनुका साथै शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र निष्पक्षताको मूल्यमा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिअनुसार शिक्षक छनोट प्रक्रियाको पहिलो चरणको वस्तुगत परीक्षाको प्राप्ताङ्क पुनर्योग गर्दा असफल भएका प्रतिस्पर्धीलाई उच्च अंक दिइएको तथा उच्च अंक प्राप्त गर्ने प्रतिस्पर्धीलाई असफल बनाइएको आरोप लगाइएको छ। साथै, विषयगत परीक्षामा समेत सहभागी नगराइएको दाबी गर्दै यस सम्बन्धमा निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाहीको माग गरिएको छ।
थारु कल्याणकारिणी सभाले सम्बन्धित निकायलाई छनोट प्रक्रियाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ। साथै, सुरुमा भएको परीक्षाको पुनर्योगबाट प्राप्त नतिजालाई कायम राखी छनोट प्रक्रिया अगाडि बढाउन पनि माग गरिएको छ।
यसैगरी, भविष्यमा यस्ता विवादास्पद तथा अपारदर्शी गतिविधि दोहोरिन नदिन शिक्षक नियुक्तिलगायत सबै सार्वजनिक प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष, उत्तरदायी र कानुनसम्मत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
प्रेस विज्ञप्तिमा यदि निष्पक्ष छानबिन र आवश्यक कारबाही नभए न्याय, सुशासन र पारदर्शिताको पक्षमा लोकतान्त्रिक तथा कानुनी माध्यमबाट थप कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
उक्त प्रेस विज्ञप्तिमा थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडी चितवनकी सभापति सुक्रिया महतोको हस्ताक्षर रहेको छ।



