गोकुल बास्कोटाले मागे गृहमन्त्रीको राजिनामा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने बताएका छन्।

दुई समुदायबीच उत्पन्न तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति प्रतिक्रिया दिँदै बास्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको आलोचना गरेका हुन्।

उक्त घटनामा प्रहरीसहित २१ जना घाइते भएका छन्। अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युकै बीच आगजनी तथा तोडफोडका घटना भएपछि नेपाली सेना पनि ब्यारेकबाट परिचालन गरिएको छ।

बास्कोटाले गृहमन्त्रीलाई लक्षित गर्दै संसद्मा भावुक अभिव्यक्ति दिने तर घटनाको जिम्मेवारी नलिने प्रवृत्तिको आलोचना गरेका छन्। उनले लेखेका छन्, “सभा हलमा केही आँसु झार्दै भावुक हुने, पानी पिउँदै ‘हाम्रा दाजुभाइ–दिदीबहिनीमाथि गोली चल्दा मलाई पीडा भएको छ’ भन्ने, तर बाहिर आएर गोली लागेका व्यक्तिलाई नै दोष दिने प्रवृत्ति स्वीकार्य हुँदैन। यदि जवाफदेहिता छ भने राजीनामा दिनुपर्छ।”

सुनसरीको कप्तानगञ्ज क्षेत्रमा भएको झडपपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु