भरतपुर, २३ असार । सुद्धीकरणको नाउँमा बदलियतपूर्ण तरिकाले पत्रकारहरुको सदस्यता नविकरण नभएको विरोधमा नेपाल पत्रकार महासंघ, चितवनको कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रेस चौतारी नेपाल, चितवनले अनिश्चित समयका लागि तालाबन्दी गरेको हो । महासंघ चितवनले बदनियतपूर्ण ढंगले प्रदेश समितिमा पठाएको सूची खारेजगर्न माग गरेको छ । विद्यान अनुसार नविकरण गरिसकेका पत्रकारहरुको सदस्यता बदनियतपूर्ण ढंगले खारेज गरिएको विरोधमा न्याय प्राप्तिको लागि भन्दै प्रेस चौतारी, चितवनले तालाबन्दी गरेको अध्यक्ष सुवास पंण्डितले जानकारी दिए ।
महासंघको दुईवटै गेटमा तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले सिफारिस गरेर बागमती प्रदेश समितिबाट २०८० असार २१ गते चितवन शाखाको सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको प्रति आपत्ति जनाएको छ । सदस्यता नविकरणको नाममा प्रदेश समितिमा पठाएको नामावलीमा चितवनका क्रियाशील पत्रकार, पत्रकार महासंघको स्थापनामा विशिष्ट योगदान गरेका र पत्रकारिता क्षेत्रमा अनुसन्धान गरिरहेका पत्रकारहरुको नाम नै काटेर प्रदेश समितिमा पठाइएको सूचि खारेजगर्न माग गर्दछौं तालाबन्दीसँगै जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
महासंघ चितवनले २०८० चैत्र मसान्तसम्म २६४ जना सदस्यको विधानतः सदस्यता नविकरण गरेर रसिद समेत दिइसकेको सन्दर्भमा क्रियाशील पत्रकारलाई बदनियतपूर्ण ढंगले कत्लेआमगर्ने गरी गरिएको निर्णय सच्याउन भनिएको छ । माग पुरा नभए सम्म तालाबन्दी नखुल्ने अध्यक्ष पंण्डितले बताए । यो अभियानमा गोलबद्ध भइ साथ र सहयोग गर्न सबै पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशील संघसंगठनलाई हार्दिक अपिल समेत गरेको छ ।




–00–


