शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी अभियान तीव्र

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएको क्रममा सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरू आइतबार बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य तथा स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार महिलाहरू बिहान करिब ११ बजे पाँच र नौ जनाको दुई समूहमा जंगल प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सविता चौधरी, सानु चौधरी र सुमित्रा सुनारसहित १४ जना रहेका छन्। अन्य महिलाको विवरण संकलन गरी परिवारबाट आधिकारिक रूपमा प्रमाणित गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महिलाहरू च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक नेत्रमणि गिरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले निकुञ्जभित्र व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ। खोजी कार्यको नेतृत्व गर्न डीएसपी टेकबहादुर राउत स्वयं घटनास्थल पुगेका छन्।

यसैबीच, बेलडाँडी गाउँपालिकाका तीन जना महिला पनि आइतबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू भने सोमबार बिहान सकुशल फेला परेको डीएसपी राउतले जानकारी दिएका छन्। हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र सम्पर्कविहीन १४ महिलाको खोजी कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तीव्रता दिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु