चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको यातायात आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार मिति २०८३ साउन ३ गते बिहान करिब ७ः१० बजे इच्छाकामना गाउँपालिका–६, जलबिरे नजिक मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडिबाट आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा दुवै बसमा सवार यात्रुमध्ये करिब २५–२६ जना घाइते भएका छन्। घटनास्थलमा खटिएको नेपाल प्रहरीको टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाएको जनाएको छ। दुर्घटनाका कारण केही समय नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय भरतपुरले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको जनाएको छ।
यातायात सञ्चालनमा आएपछि रातभर तथा बिहानदेखि सडकमा रोकिएका यात्रुहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् भने सवारीसाधनको आवागमन क्रमशः सामान्य बन्दै गएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।–00–


