आज र भोलि भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं, २ साउन – जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागले शनिबार विशेष मौसम बुलेटिन जारी गर्दै मनसुनी गतिविधि थप सक्रिय हुने जनाएको हो। विभागका अनुसार हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानका साथै कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ।

विभागले देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने अवस्था बनेको हो।

मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै नदी किनार, डुबान सम्भावित क्षेत्र तथा पहिरोको जोखिम रहेका स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु