युरोपको पोर्चुगलमा मौलिक तीज मनाईयो

पोर्चुगल, १८ भदौं । नेपाली नारीहरुको महान साँस्कृतिक पर्व हरितालिका तीज युरोपको पोर्चुगल, अभेरो जिल्लास्थित पारदिल्होमा यहाँ रहेका नेपाली समुदायले हरेक वर्ष झैँ यो वर्ष पनि विविध साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान सहित भव्य रुपमा मनाएका छन् ।

हरितालिका तीजको अवसर पारेर यहि २०२४ सेप्टेम्बर १ तारिखका दिन सम्पन्न उक्त कार्यक्रमा नेपालीहरुका अतिरिक्त अतिथिहरूमा केही पोर्चुगिस नागरिकहरुको समेत सहभागी रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली जेष्ठ नारी, आमा कालिका ढकाल रहेकी थिइन् भने विशेष अतिथिमा सूर्य गुरुङ थिए । त्यसैगरी अतिथिहरूमा अन्थोनिया, पाउला, चक्र गुरुङ र सुकुमायाँ घलान थिए ।

कार्यक्रमलाई निकै सहज र रोचक ढंगले सञ्चालन गरेकी थिइन् लक्ष्मी गुरुङले । कार्यक्रममा बोल्दै अतिथिहरुले भने- प्रवासी भूमिमा कामबाट बचेको थोरै समयलाई पनि सदुपयोग गरेर आफ्नो मौलिक कला, संस्कृति तथा चाडपर्व मनाउनु महत्त्वपूर्ण कुरा हो । यसलाई निरन्तरता दिनका लागि आजको उपस्थितिले पनि हौसला प्रदान गरेको छ ।

आजकल तीजको नाममा भड्किलो परम्परा र सस्तो संस्कृति हावी भइरहेको तथा बजारमा आएका तीज गीतहरुले नेपाली समाजमा विकृति र विसङ्गती फैलाउने अश्लील शब्दजाल बुनिरहेको परिप्रेक्ष्यमा पोर्चुगलका नेपाली समुदायले तीज सम्बन्धि मौलिक गीत-सङ्गीतको प्रयोग गरेर आफ्नै रितिरिवाज अनुसार एक सभ्य कार्यक्रमको आयोजना गरि तीज पर्व मनाएका छन् ।

यस्तो किसिमको मौलिक नेपाली कार्यक्रमको साक्षी हुन पाउनु, यति मिठो मायाँ, माहौल र सदभावपूर्ण व्यवहार पाउनुले आफु लगायत उपस्थित सबै दिदिबहिनी, दाजुभाइ लगायत सम्पूर्ण नेपालीहरु हर्षित भएको भन्दै कार्यक्रममा सहभागी नेपालीहरुले खुशी व्यक्त गरे ।

कार्यक्रममा यस्तो उत्साहजनक उपस्थितिले आगामी दिनमा पनि यस्तै मौलिक नेपाली कार्यक्रम गर्न हामीलाई थप उर्जा मिलेको सहजकर्ता लक्ष्मी गुरुङले बताइन् ।

—00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु