डडेल्धुरामा बोलेरो जीप दुर्घटना : दुईको मृत्यु, तीन जना घाइते

कैलाली, २ साउन – भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखान क्षेत्रमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप शुक्रबार बिहान करिब २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको हो।

दुर्घटनामा परी दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्।

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए। प्रहरीका अनुसार अनियन्त्रित भएको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु