-रेशम सापकोटा – सेतो नेपाल
माडी,१ साउन । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिनको अवसर पारेर जिल्ला प्रहरी कार्यालय चितवनले एकीकृत सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको निर्देशन तथा नेतृत्वमा सञ्चालन गरिएको उक्त कार्यक्रम जिल्लाभरिका ७५ वटै प्रहरी इकाइहरूमा एकैसाथ सम्पन्न भएको हो।

कार्यक्रम अन्तर्गत प्रत्येक प्रहरी इकाइमा कार्यालय परिसर तथा वरपरका क्षेत्रहरूको सरसफाइ गरिएको थियो। आफ्नै कार्यस्थल सफा राख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ। सरसफाइ कार्यमा प्रहरीका सम्पूर्ण अधिकृत तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमपश्चात एसपी गोविन्द पुरीले सरसफाइको महत्त्वबारे जानकारी दिँदै भन्नुभयो, “सरसफाइ अभियान केवल देखावटी काम होइन। यो बर्खाको समयमा सरसफाइले डेङ्गु, हैजा, झाडापखाला, सर्पदंशजस्ता समस्याबाट जोगिन सहयोग पुर्याउँछ। साथै वातावरण स्वच्छ र सुरक्षित हुँदा काम गर्ने मनोबल पनि उच्च हुन्छ।”
एसपी पुरीका अनुसार, यस किसिमका अभियानहरूले प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै सार्वजनिक स्वास्थ्य र वातावरण संरक्षणमा समेत टेवा पुर्याउँछन्।

चितवनमा आफ्नो पदस्थापनपछि एसपी पुरीले प्रहरी सेवा छिटो, प्रभावकारी र जनमैत्री बनाउने दिशामा महत्वपूर्ण कार्यहरू अगाडि बढाएका छन्। प्रहरी संगठन र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउन उहाँले सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै विभिन्न जनहितका कार्यक्रमहरू सञ्चालन गरिरहनुभएको छ।–00–


