धुर्बे हात्तीले उजाडिएको घर, सडकमै काजक्रिया गर्दै बोटे परिवार, घाम र वर्षाबाट जोगिन त्रिपालको भर

सन्तकुमार चौधरी

चितवन। केही दिनअघिसम्म हाँसो, खुसी र परिवारको न्यानोपनले भरिएको एउटा सानो घर अहिले भग्नावशेषमा परिणत भएको छ। जहाँ साँझ पर्दा चुलो बल्थ्यो, बालबालिकाको हाँसो गुञ्जिन्थ्यो र परिवारका सदस्यहरू सुरक्षित महसुस गर्थे, त्यही घर आज जंगली हात्तीको आक्रमणपछि सुनसान छ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको धुर्बे हात्तीले रातको समयमा बोटे परिवारको घरमा आक्रमण गर्दा २३ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको ज्यान गयो। आफ्नै घरभित्र सुरक्षित हुनुपर्ने परिवारले मृत्युको सामना गर्नुपर्‍यो। घर पूर्ण रूपमा भत्कियो। परिवारका सदस्यहरूले ज्यान जोगाउन घरमै आगो बालेर हात्तीलाई तर्साउने प्रयास गरे, तर त्यो प्रयासले दुई निर्दोष जीवन फर्काउन सकेन।

आज त्यो परिवारसँग न घर छ, न सुरक्षित बास। उनीहरू अहिले सडक छेउमा बनाइएको सानो छाप्रोमुनि बस्न बाध्य छन्।

 

घर नजिकै रहेको बसपार्क क्षेत्रमा यात्रुहरू सुस्ताउने एउटा सामान्य छाप्रो अहिले बोटे परिवारको शोकको साक्षी बनेको छ। त्यही छाप्रोमुनि त्रिपाल टाँगिएको छ, चारैतिर जालले बारिएको छ र त्यहीँ आशिकाका ससुरा शनिचरा बोटे बोटे समुदायको परम्पराअनुसार काजक्रियामा बसेका छन्। शनिचरा बोटे ति हुन जसले २०६९ सालमा पनि धुब्रेहात्तीकै आक्रमणबाट ज्यान गुमाएका आफ्ना बुबा आमाको काजक्रिया गरेका थिए ।

परिवारका अन्य सदस्यहरू नजिकै स्थानीय क्लबले बनाएको सानो पक्की भवनमा आश्रय लिइरहेका छन्। आफ्नो घर गुमाएको पीडामाथि सार्वजनिक स्थानमा बस्नुपरेको बाध्यता थपिएको छ। उनीहरूको अनुहारमा भविष्यको चिन्ता, असुरक्षा र अपूरणीय क्षतिको गहिरो छाप स्पष्ट देखिन्छ।

बोटे समुदायमा परम्परागत रूपमा नदी किनारमा पुगेर काजक्रिया गर्ने चलन छ। तर अहिले त्यो सम्भव छैन। वरपर हात्ती र अन्य जंगली जनावरको चहलपहल बढेकाले उनीहरूले सार्वजनिक स्थलमै त्रिपालमुनि काजक्रिया गर्न थालेका छन्। राति पनि उनीहरू निर्धक्कसँग सुत्न सक्दैनन्। खुला आकाशमुनि, हात्ती फेरि आउने हो कि भन्ने त्रासका बीच जाग्राम बसेर रात कटाउनुपर्ने अवस्था छ।

बुधबार पीडित परिवारलाई समवेदना व्यक्त गर्न तथा राहत उपलब्ध गराउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरू त्यही छाप्रोसम्म पुगे। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले परिवारसँग भेट गरी समवेदना व्यक्त गरे।

छाप्रोभित्र आशिका र उनका नाबालक छोरा भरतको तस्वीर राखिएको थियो। तस्वीरअगाडि बलिरहेको धूप, वरिपरि बसेका आफन्त, मलिन अनुहारका गाउँले र मौन वातावरणले त्यहाँ उपस्थित जोसुकैलाई भावुक बनाइरहेको थियो। कुनै शब्दले त्यो पीडा कम गर्न सक्ने अवस्था थिएन।

कार्यक्रमका क्रममा भरतपुर महानगरपालिकाका वडा अध्यक्ष दीपक दुवाडीले पीडित परिवारका लागि विभिन्न क्षेत्रबाट राहत संकलन भइरहेको जानकारी गराए। केही संघसंस्था तथा व्यक्तिहरूले त्यही अवसरमा आर्थिक सहयोग पनि हस्तान्तरण गरे। सहयोगले केही राहत त दिएको थियो, तर दुई जीवनको क्षति र घरबार उजाडिएको पीडा कुनै रकमले पूरा गर्न सक्ने अवस्था थिएन।

यत्तिकैमा आकासमा कालो बादल मडारियो। केहीबेरमै पानी पर्न थाल्यो। घाम र वर्षाबाट जोगिन टाँगिएको त्रिपालले पानी थेग्न सकेन। वर्षाको छिटा सिधै काजक्रियामा बसेकाहरूमाथि परिरह्यो। एकातिर प्रियजन गुमाएको पीडा, अर्कोतिर घरबारविहीन जीवन, त्यसमाथि वर्षाको चिसोले उनीहरूको दुःखलाई झन् गहिरो बनाइरहेको थियो।

बोटे परिवारको यो कथा एउटा परिवारको मात्रै कथा होइन। यो मानव–वन्यजन्तु द्वन्द्वको कठोर यथार्थ हो। निकुञ्जको छेउछाउमा बसोबास गर्ने सयौँ परिवारले वर्षौंदेखि ज्यान, धन र भविष्यको जोखिम बोकेर जीवन बिताइरहेका छन्। प्रत्येक हात्ती आक्रमणपछि राहत र समवेदनाका शब्द त पुग्छन्, तर दीर्घकालीन समाधान अझै पनि उनीहरूको पहुँचभन्दा टाढै छ।

आज बोटे परिवारको सबैभन्दा ठूलो आवश्यकता केवल राहत होइन। उनीहरूलाई सुरक्षित बास, स्थायी पुनर्स्थापना, जीविकोपार्जनको आधार र भविष्यप्रति भरोसा चाहिएको छ। नत्र, हात्तीको आक्रमणबाट जोगिए पनि उनीहरू असुरक्षा, अभाव र पीडाको अर्को चक्रमा बाँचिरहन बाध्य हुनेछन्।

आशिका र सानो भरत अब फर्केर आउने छैनन्। तर उनीहरूको मृत्युले एउटा गम्भीर प्रश्न छोडेको छ ! जंगलको छेउमा बस्ने नागरिकको सुरक्षा कसको जिम्मेवारी हो? जबसम्म यो प्रश्नको व्यवहारिक उत्तर खोजिँदैन, बोटे परिवारजस्ता अनेक परिवारका आँसु सुक्ने छैनन्।

Share:

सम्बन्धित समाचारहरु