चितवन। कालिका नगरपालिकाले वन संरक्षण, वातावरणीय सन्तुलन, फोहोरमैला व्यवस्थापन तथा खानेपानी र सरसफाइको क्षेत्रमा व्यापक सुधार गर्ने नीति अघि सारेको छ। नगरपालिकाले “स्वच्छ कालिका, हरित कालिका” अभियानलाई निरन्तरता दिँदै वातावरणमैत्री विकास र दिगो स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ।
कालिका नगर प्रमुख विनोद रेग्मीले आज सार्वजनिक गरेको नीतिअनुसार सामुदायिक, कबुलियती तथा निजी वनको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ भने वन क्षेत्रमा फलफूल तथा जडीबुटी खेती, उत्पादन, प्रशोधन र बजारीकरणमार्फत स्थानीय रोजगारी तथा आयआर्जन बढाउने योजना अघि सारिएको छ। सार्वजनिक जमिनको संरक्षण र उपयोगलाई पनि व्यवस्थित गरिने उल्लेख गरिएको छ।
फोहोरमैला व्यवस्थापनतर्फ नगरपालिकाले ल्याण्डफिल साइट तथा प्रशोधन केन्द्र स्थापना, घरघरबाट फोहोर संकलन, स्रोतमै फोहोर वर्गीकरण र ३आर (Reduce, Reuse, Recycle) अवधारणालाई प्रवर्द्धन गर्ने नीति लिएको छ। निजी क्षेत्रसँगको सहकार्यमा संकलन, प्रशोधन र सुरक्षित विसर्जन प्रणालीलाई व्यवस्थित बनाइने जनाइएको छ।
यस्तै, एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण, जलाधार क्षेत्र संरक्षण, वृक्षारोपण, कृत्रिम तालतलैया विकास तथा वर्षाको पानी पुनर्भरण प्रणालीलाई समेत प्राथमिकता दिइनेछ। नगरस्तरीय पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन र प्रभाव मूल्याङ्कनका आधारमा योजना कार्यान्वयन गरिने नीति पनि समावेश गरिएको छ।
खानेपानी तथा सरसफाइतर्फ नगरभित्रका संस्थाहरूको क्षमता अभिवृद्धि, सुरक्षित खानेपानीको पहुँच विस्तार, मुहान संरक्षण तथा खानेपानी गुणस्तर परीक्षण प्रयोगशालालाई व्यवस्थित बनाउने योजना अघि सारिएको छ। साथै, WASH कार्यक्रममार्फत स्वच्छ, सफा, वातावरणमैत्री र बालमैत्री नगरपालिका निर्माण गर्ने लक्ष्य लिइएको छ।–00—


