सन्तकुमार चौधरी –
कालिका। खेतीबालीको उत्पादन वृद्धि र माटोको दीगो व्यवस्थापनलाई प्राथमिकता दिँदै कालिका नगरपालिकाले किसानहरूलाई माटो स्वास्थ्य सुधार तथा माटोको नमुना संकलनसम्बन्धी तालिम सञ्चालन गरेको छ। नगरपालिकाको कृषि शाखाले आयोजना गरेको एकदिने तालिम सोमबार वडा नं. ५ मा सम्पन्न भएको हो।
तालिममा वडा नं. ५ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका किसानहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्राविधिक सहायक कामना न्यौपाने र कृषि अधिकृत निर्जला अधिकारीले माटोको वैज्ञानिक व्यवस्थापन, माटोको स्वास्थ्य जोगाउने उपाय तथा परीक्षणका लागि नमुना संकलन गर्ने सही विधिबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए।

प्रशिक्षकहरूले माटो परीक्षणका आधारमा खेती गर्दा बालीलाई आवश्यक पोषक तत्वको पहिचान गर्न सकिने, मलको उचित प्रयोग गर्न सकिने तथा उत्पादन लागत घटाउँदै उत्पादन वृद्धि गर्न सकिने बताएका थिए।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दीपकबहादुर भट्टराईले माटोको अवस्था बुझेर खेती गर्न सके किसानले उत्पादनमा उल्लेखनीय प्रगति गर्न सक्ने बताए। उनले कालिका नगरपालिकाका अधिकांश वडामा कृषिको राम्रो सम्भावना रहेको उल्लेख गर्दै स्थानीय माटो र भूगोलअनुसार उपयुक्त बाली छनोट गर्न सके किसानले थप लाभ लिन सक्ने धारणा राखे।
समापन कार्यक्रममा वडा सदस्य सिकेन्द्र चौधरी, फारमकुमारी ढकाल लगायत जनप्रतिनिधि तथा कृषकहरूको उपस्थिति रहेको थियो।

कृषि शाखा प्रमुख सन्तोष न्यौपानेका अनुसार यसअघि वडा नं. १, ६ र ७ मा समेत यस्तै तालिम सम्पन्न भइसकेको छ भने आगामी दिनमा नगरका सबै ११ वटै वडामा तालिम सञ्चालन गरिनेछ। किसानलाई माटो सुहाउँदो खेती प्रणालीतर्फ प्रोत्साहित गर्न तथा माटो परीक्षणको महत्वबारे जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
“उत्पादन राम्रो हुन माटोको स्वास्थ्य अवस्था राम्रो हुनुपर्छ। माटोको अवस्था नबुझी गरिएको खेतीभन्दा परीक्षणको आधारमा गरिएको खेती बढी प्रभावकारी हुन्छ,” प्रमुख न्यौपानेले भने, “किसानलाई माटोको नमुना कसरी र कहिले संकलन गर्ने भन्ने व्यवहारिक ज्ञान दिन प्रत्येक वडामा तालिम सञ्चालन गरिरहेका छौं।”
उनका अनुसार रासायनिक मलको अभाव भइरहेका बेला पनि वैज्ञानिक खेती प्रणाली अपनाएर उत्पादन बढाउन सकिन्छ। त्यसका लागि किसानले आफ्नो खेतको माटोको वास्तविक अवस्था बुझ्न आवश्यक रहेको उनले बताए। “माटोको स्वास्थ्यबारे जानकारी लिन सके माटोलाई जीवित राख्न सकिन्छ र दीर्घकालीन उत्पादन क्षमता जोगाउन सकिन्छ,” उनले भने।

हाल माटो परीक्षणका लागि हेटौंडास्थित माटो तथा मल परीक्षण प्रयोगशालामा नमुना पठाउनुपर्ने बाध्यता रहेको छ। सरकारी प्रयोगशालामा नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ तथा पीएच (अम्लीयपन र क्षारीयपन) लगायतका सूचक परीक्षण गर्दा ३६० रुपैयाँ शुल्क लाग्ने गरेको छ।
तर अब कालिका नगरपालिकाले आफ्नै स्तरमा माटो परीक्षण सेवा सञ्चालन गर्ने तयारी गरेको छ। आवश्यक ‘सयल टेस्टिङ किट बक्स’ खरिद प्रक्रियामा रहेको जानकारी दिँदै प्रमुख न्यौपानेले किट उपलब्ध भएपछि किसानको माटो परीक्षण नगरपालिकामै निःशुल्क गर्न सकिने बताए।
उनका अनुसार कालिका क्षेत्रका धेरैजसो माटोमा अम्लीयपन तथा क्षारीयपनको समस्या देखिने गरेको छ। माटो परीक्षणबाट यस्ता समस्या पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न सकिनेछ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा अम्लीयपन देखिएको माटोका लागि कृषि चुन तथा क्षारीयपन भएको माटोका लागि जिप्सम अनुदानस्वरूप वितरण गर्ने योजना समेत बनाएको छ। माटोको स्वास्थ्य अवस्था पहिचान गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याउन लागिएको हो।
प्राविधिकहरूका अनुसार धान कटानीपछि माटो परीक्षण गर्नु उपयुक्त मानिन्छ। परीक्षण प्रतिवेदनका आधारमा किसानलाई कुन बाली उपयुक्त हुन्छ भन्ने सिफारिस समेत गरिनेछ। साथै माटो सुधारका लागि आवश्यक कृषि चुनको मात्रा निर्धारण, बाली छनोट तथा रासायनिक मलको प्रयोग घटाउने उपायबारे पनि सुझाव प्रदान गरिनेछ।
२०७८ सालको कृषि गणनाअनुसार कालिका नगरपालिकामा ८ हजार ५ सय ८० परिवार कृषि पेशामा सक्रिय छन्।
कृषि उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले नगरपालिकाले क्षेत्रगत कृषि वर्गीकरणसमेत गरेको छ। नगर प्रमुख विनोद रेग्मीका अनुसार वडा नं. १ लाई तरकारी पकेट क्षेत्र तथा वडा नं. २ लाई च्याउ पकेट क्षेत्रका रूपमा विकास गरिँदैछ। अन्य वडाहरूलाई समेत स्थानीय भूगोल, माटो र हावापानीको आधारमा विभिन्न कृषि उत्पादनका लागि वर्गीकरण गरिएको छ।
नगरपालिकाले माटो परीक्षण, वैज्ञानिक खेती प्रणाली र क्षेत्रगत कृषि विकास कार्यक्रमलाई सँगसँगै अघि बढाएर कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।—000—


