– सन्तकुमार चौधरी
चितवन । अक्षरले जीवन बदल्न सक्छ भन्ने कुराको जीवन्त उदाहरण हुन—भरतपुरका तीन बालबालिकाः सुजिता विक, कृश दाहाल र अग्रिम अधिकारी ।
यी बालबालिकाहरु जो न हिँड्न सक्छन्, न दौडन सक्छन् न त हाँस्दै स्कुल जान सक्छन् । तर, अहिले यिनीहरू अक्षर चिन्छन्, किताबका चित्रहरू छुट्याउँछन्, र नयाँ विषय सिक्न चाहन्छन् । घरबाटै अक्षर चिन्न थालेका यिनीहरु मध्ये अग्रिम भने आमाको सहारा लिएर स्कुल जान थालेका छन् ।
तीनैजना फरक वडा, फरक टोल, फरक अवस्थाका बालबालिका हुन् । तिमध्ये एक हुन्, सुजिता विक । सुजितामा पूर्ण शारीरिक अपाङ्गता छ । अर्का हुन्, कृश दाहाल । जसको शरीरको हड्डी यति कमजोर छ कि हलचल गर्न नै हुँदैन । हलचल गर्ने बित्तिकै पिरिक्क भाँच्चिहाल्छ हड्डी । अर्का हुन्, अग्रिम अधिकारी, जो बौद्धिक अपाङ्गता (डाउन सिन्ड्रोम) लिएर जन्मिएका छन् ।
तर, यी तीनै बालबालिका एउटा समान पक्षमा जोडिएका छन्—घरमा आधारित समावेशी शिक्षा । जसले उनीहरुको शारीरिक तथा मानसिक अवस्थालाई परिवर्तन गर्न सहयोग मात्रै गरेको छैन, जीवन परिवर्तनको लागि पनि सहायक बनिरहेको छ ।
सुजिता विक — अक्षरले चलायो जीवन-
१३ वर्षीया सुजिता विक भरतपुर–६ दक्षिणकाली टोलमा बस्छिन् । उनी पूर्ण अपाङ्गता भएकी बालिका हुन् । तर अक्षर चिन्छिन्, अंग्रेजीका शब्द छुट्याउँछिन्, किताबका चित्रहरू बुझ्छिन् । राष्ट्रिय बहिरा महासंघको पहलमा सुरु भएको घरमा आधारित शिक्षा कार्यक्रमले उनको पढ्ने रहर पुरा हुँदैछ ।
हप्ताको दुईपटक घुम्ती शिक्षिका घरमै आउँछिन् । किताब, कापी लगायत आवश्यक स्टेशनरीका सामग्री महासंघले नै निःशुल्क उपलव्ध गराएको छ । शिक्षकले सुजितालाई चित्र देखाएर, किताबका अक्षर चिनाउँछिन् । केही खेल्ने सामग्री समेत सुजितासँग छ । यसरी सुजिताले घरमा आधारित शिक्षा लिन थालेको २ वर्ष पुरा भयो ।
सुजिताको खुट्टा सिधा नहुने सानैदेखिको समस्या हो । खुट्टाको अवस्था सुधारको लागि नियमित फिजियोथेरापी पनि गरिदै आइएको छ । नियमित फिजियोथेरापीले अहिले उनी फलामको बार समातेर उभिन सक्ने भएकी छन् ।
केही पाइला आफै चाल्न खोज्छिन् । केही पाइला आफै चाल्नु के ठूलो हो भन्ने पनि लाग्न सक्छ । तर, सुजिताको परिवारका लागि उनमा आएको यो परिवर्तन चमत्कारिक सुधार हो ।
महासंघले पढाइसँगै सुजिताको शारीरिक अवस्थालाई मध्यनजर गर्दै हप्तामा १ पटक थेरापी समेत गराउँदै आएको छ । थेरापीका लागि महासंघमै आवद्ध थेरापिस्ष्ट सुजिताको घर पुगेर सेवा दिने गरेका छन् ।
‘हामीलाई देखेर हाँस्छिन्, दोहोरो कुराकानी बुझ्न थालेकी छन् । अब छोरी स्कुल जान सक्छ कि भन्ने आशा पलाएको छ, आमा सर्मीला विकले भनिन ।
सुजितालाई हिँडडुल गर्न सजिलो होस भनेर घर अगाडी फलामको बार बनाइएको छ । जसको लागि महासंघले नै सहयोग गरेको हो । बार समातेर सुजिता उभिन सक्ने भएकी छिन् । थोरै पाइलाहरु आफै सार्न खोज्छिन्, उनको आमाले भनिन् – पहिला भन्दा अहिले धेरै राम्रो हुँदै गएको छ ।
कृष दाहाल — कमजोर हड्डी, बलियो आत्मबल-
भरतपुर–१२ का ९ वर्षीय कृष दाहाल असाधारण अवस्था बोकेका बालक हुन्।
‘ ओस्टिओजेनेसिस इम्परफेक्टा’ नामको रोगले ग्रसित कृषको हड्डी यति कमजोर छ कि शरीर थोरै हल्लिनासाथै उनको हड्डी भाँचिन्छ ।
एकै दिनमा तीन–चार वटा हड्डी भाँच्चिएको दुःख भोगिसकेका छन् ९ वर्षीया यी बालकले ।
शारीरिक अवस्थाका कारण विद्यालय शिक्षा उनको लागि संभव छैन । तर, पढाइ सिकाइ उनको नैसर्गिक अधिकार हो । कृष अहिले घरमै पढ्छन् । हप्ताको दुई दिन उनलाई पढाउन शिक्षक आउँछिन् । कृष पढाइमा यति तेज छन् कि, एकपटक सुनेको कुरा बिर्सँदैनन् । यही प्रतिभाका कारण उनी घरै बसेर विद्यालय पढिरहेका छन् । भरतपुर १२ मा रहेको मोहन माध्यामिक विद्यालयको कक्षा ४ का विद्यार्थी हुन् कृष।
अझ चाखलाग्दो त उनी कक्षाकोठाको प्रथम छात्र हुन् । पढाइमा तेज छन् । उनलाई विद्यालय जान खुबै रहर लाग्छ । अलिकति सन्तुलन मिलेन भने शरीरको जुनसुकै हड्डी पनि भाँच्चिहाल्छ । त्यसैले भौतिक रुपमा कक्षामा उपस्थित हुन संभव नै छैन उनलाई । अझ उनको लागि छुट्टै रेखदेश गर्ने न शिक्षक, न पहुँचयुक्त पूर्वाधार नै छ विद्यालयमा ।
तर, सिक्ने चाहना उनको रोकिएको छैन । घरभित्रै अक्षर र किताबसँग खेल्छन्, पढ्न अनि रमाउँछन् कृश । अक्षरहरु लेख्न, पढ्न र बोल्न सजिलै सक्ने कृषकी आमा सम्झना तिवारी दाहाल पनि बेला बेला छोरालाई पढाउँछिन् ।
उनको औपचारिक शिक्षाका लागि स्थानीय मोहन माध्यमिक विद्यालयमा भर्ना गरिएको हो । शारीरिक जटिलताका कारण रेगुलर कक्षा भने लिन सकेका छैनन् । विद्यालयका शिक्षकहरु परीक्षा लिन घरमै आउने आमा सम्लेझनाले बताइन् ।
उनको पढाई र बौद्धिक क्षमता देख्दा नियमित कक्षा पढाइदिउँ जस्तो हुन्छ, आमा सम्झनाले भनिन् – तर, अरु बालबालिका जस्तो मेरो बाबुलाई स्कुल लैजान ल्याउन सजिलो छैन ।
स्कुल जान खुब रहर गर्छ । दुईचार दिन त उनको रहर पुरा गर्न लिएर गए आमाले तिवारीले थपिन्, – उ बस्न मिल्ने, डेक्स, बेञ्च छैन । पढाउने तालिम प्राप्त शिक्षक पनि छैनन् ।
अर्को पनि समस्या छ । शारीरिक सन्तुलन मिलाएर बोक्नुपर्ने भएकोले कृषलाई आमा एक्लैले विद्यालय लैजान पनि मुस्किल हुन्छ । बाबा पनि सँगै भए दुईजना मिलेर लैजान मात्रै सक्ने उनले बताइन् ।
कृषलाई सुतेको ठाउँबाट आफै उठ्न सक्दैनन् । उनलाई अरुले नै उठाउने सुताउने गरिदिनुपर्छ । शरीरको सबै हड्डि नरम भएका कारणले उठाउन, बसाउन समेत समस्या छ । उठ्यो भने उठि राख्नुपर्ने, सुत्यो भने सुतिराख्नुपर्ने अवस्था छ उनको । त्यसैले एक्लै हिँडडुल गर्न त उनलाई लगभग असंभव जस्तै छ ।
घरै बसिरहनुपर्ने शारीरिक अवस्थाका भएपनि कृषले साथी बनाएका छन् । घर वरिपरिका बालबालिकाहरु दैनिक कृषको घर पुगेर सँगै खेल्छन् ।
चिकित्सकले कृषलाई घरमै जोगाएर राख्न भनेको छ । दिसा, पिसाब ओच्छ्यानमै हुन्छ । हातखुट्टा भाँच्चिने, जोडिने गर्दागर्दै हातखुट्टा नै बाङ्गों भएको छ । यहाँसम्मकी हातमा वा खुट्टामा व्याण्डेज राख्दापनि उनको शरीरका हडडीहरू भाचिन्छ । निकै कमजोर हड्डी छ । कृषलाई थेरापी वा शारीरिक अभ्यास समेत गराउन मिल्दैन ।
राष्ट्रिय बहिरा महासंघले उनको लागि शौचालय, बस्ने पहुँचयुक्त कुर्सी र ह्वील चियर सहयोग गरेको छ । हुुन त महासंघले आफ्नो स्रोत र साधनले संभव भएसम्म नियमित सहयोग गर्दै आएको छ । तर, सामाजिक संघ संस्थासँगको सहकार्य नियमित हुन संभव छैन । निश्चित समयावधि सकिएपछि उनीहरु नियमित नहुने अवस्था आउन सक्छ ।
यस्तो अवस्थामा पनि आफ्नो बच्चाको लागि नियमित पुर्नताजगी गराउने राज्यका निकाय भइदिए हुन्थ्यो भन्ने कृषका अभिभावकको आशा छ ।
जटिल प्रकारको शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउनका लागि १ वटा वडामा १ वटामात्रै भएपनि स्रोतकक्षा संचालन भए हुने उनीहरुको चाहना छ ।
राज्यले नै संवैधानिक हकको रुपमा पढ्न, सिक्न पाउने व्यवस्था गरिसकेको अवस्था उनीहरुको आवश्यकता राज्यबाट नै पुरा गरिदिए हुने भन्ने उनको परिवारको अपेक्षा छ ।
कृषकी आमा सम्झना भन्छिन्, “शिक्षा त अधिकार हो भनिन्छ, तर हामीजस्ता अभिभावकले यो अधिकार मागिरहनुपर्छ । सुनुवाई हुने ठाउँ छैन ।”
कृषको आमा सम्झना मालपोत कार्यालयमा लेखापढी कामगर्दै आएकी थिइन् । कृष जन्मिएपछि उनको रोजिरोटी गुम्यो । छोरालाई समय दिनपर्ने भएपछि काम छाड्नपर्यो । घरमा दाना चोकरको सानो पसल छ । बाबुलाई समय दिनुपर्दा पसल सधै बन्द हुन्छ – आमा सम्झनाले सुनाइन् ।
कृषको लक्ष्य नै विद्यालय जाने छ । कृषलाई सुहाउँदो वातावरण विद्यालयमा नभएका कारण मोबाइल हेर्ने, पढ्ने सुत्ने मात्रै उनको दिनचर्या बनेको छ । स्कुल लगेपनि यिनलाई रेगुलर पढाउन मिल्दैन । बीचमा रेष्ट चाहिन्छ । १ घण्टा पढेर १ घण्टा सुत्नुपर्छ कृषलाई । तर, यस्तो व्यवस्था सहितको विद्यालय छैन ।
अग्रिम अधिकारी — ओच्छ्यानबाट स्कुल पुगे-
६ वर्षीय अग्रिम अधिकारी भरतपुर–२१ पार्वतीपुरका हुन् । डाउन सिन्ड्रोम भएका अग्रिमले अहिलेसम्म “आमा” भन्न सकेका छैनन् । उनको शरीर लुलो छ ।
जन्मिँदा मुटुमा प्वाल थियो, कहिले निमोनिया, कहिले ज्वरो लगायतको समस्या भोग्दै आए अग्रिमले । अहिले पनि दिसा–पिसावको थाहा हुँदैन । आमा प्रभा अधिकारी छोराको आमा सम्बोधन कुरेर बसिरहेकी छन् ।
तर, शारीरिक तथा बौद्धिक कठिनाइका बीच राष्ट्रिय बहिरा महासंघले सञ्चालन गरेको समावेशी शिक्षा परियोजनाको साथ पाउँदा अग्रिमको दिनचर्यामा परिवर्तन आउन थालेको छ । उनको जीवनमा नयाँ आशा थपिएको छ । नियमित घरमै शिक्षक र फिजियोथेरापिस्ट पुग्छन् । पढ्न प्रयत्न गराउँछन् । हिँडडुल गर्ने अभ्यास गराउँछन् । जसले शरीरको लचकपन घट्दैछ, प्रतिक्रिया दिने क्षमता बढ्दैछ ।
उनलाई परिवारले स्रोतकक्षा भएको विद्यालयमा भर्ना पनि गरिसकेका छन् । विद्यालयमा अग्रिमले थुर्पै साथी पाएका छन् । घरमा आधारीत शिक्षा पाएपछि अग्रिमलाई स्कुल जान हौसला मिल्यो । “पहिला ओच्छ्यानमै सीमित थिए, अब स्कुल जान थालेका छन् । अब बोल्न थाल्छन् कि भन्ने आशा पलाएको छ,” भन्छिन् आमा प्रभा ।
उनले छोराको पढाइका लागि ऋण लिएर स्कुटर किनेकी छन् । नियमित विद्यालय लैजान टाढा भएपछि उनले ऋण गरेर स्कुटर किनेर छोरालाई विद्यालय लैजान थालेकी हुन् ।
तीन कथा, एउटै वास्तविकता
यी तीन बालबालिकाको कथाले एउटै आवाज दिन्छ— समावेशी शिक्षा बिना उनीहरूको भविष्य अँध्यारो छ, रहन्छ । र, त्यो उज्यालो अहिले राष्ट्रिय बहिरा महासंघ र अभिभावकको संघर्षबाट मात्र सम्भव भएको छ ।
यो विषयमा राज्य अझै पछाडि छ ।
कृषकी आमाले भनिन्, “वडामा गइयो, नगरपालिकामा गइयो—कतै सुनेनन् ।”
सुजिताको परिवार गरिबीमा छ, थेरापी गर्न पनि सामाजिक संघ संस्थाकै भर पर्नुपर्छ । अग्रिमको आमाले जागिर छोड्नुप¥यो, विद्यालय लैजान विद्यालयको गाडी समेत छैन । उनले छोरा स्कुल लैजान ऋण लिएर स्कुटर किनिन् ।
चितवनको भरतपुर र कालिका नगरपालिकामा राष्ट्रिय बहिरा महासंघ र अटिजम केयर चितवन सोसाइटीको साझेदारीमा समावेशी शिक्षा परियोजना संचालित छ । राज्यले नियमित दिन नसकेको समावेशी शिक्षाको आवश्यकता यो संस्थाले अघि बढायो । र, अपाङ्गता भएका बालबालिकाको पढाइ र जीवनमा क्रान्तिकारी परिवर्तन आउँदैछ ।
परियोजनाबाट भरतपुर कालिकाका ४ वर्षदेखि १७ वर्ष उमेर समूहका १ सय ४५ बालबालिका लाभान्वित भएका छन् । फिजियोथेरापी, शिक्षक तालिम, आवश्यक शैक्षिक सामग्री, सहायक उपकरण—सबै सेवाहरू घरमै पुर्याइएको छ ।
परियोजनाका तालिम अधिकृत उत्तम गुरुङ भन्छन्, “यी बालबालिकालाई मात्रै हैन, अभिभावक, शिक्षक र समाजलाई नै सचेत बनाउने हाम्रो काम हो ।”
यी तीन बालबालिकाको कथा दुःखको हैन, संघर्ष र आशाको कथा हो । अक्षरले उनीहरूको जीवन उज्यालो बनाउँदैछ, तर त्यो उज्यालो टिकाउ बनाउन राज्य, स्थानीय तह र समाजको सकारात्मक अगुवाइको आवश्यकता छ ।