देशभर आज पनि वर्षाको सम्भावना, गण्डकीदेखि काठमाडौंसम्म वर्षा सक्रिय, हावाहुरीको चेतावनी

काठमाडौं । देशभर अहिले वर्षाको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि सुरु भएको वर्षा आज दिनभर कायम रहने सम्भावना रहेको छ । लगातारको वर्षासँगै केही दिनदेखिको अत्यधिक गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन् ।

मौसमविद बिनु महर्जनका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ । पानी पार्ने प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गइरहेकाले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने अनुमान गरिएको छ ।

उनले आज दिउँसो देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको बताइन् । “केही समय पानी रोकिने भए पनि फेरि वर्षा हुने सम्भावना छ,” मौसमविद महर्जनले भनिन् । उनका अनुसार आज राति तराई र पहाडी भू–भागमा हावाहुरी चल्न सक्ने सम्भावना समेत रहेको छ ।

केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । गएराति काठमाडौं उपत्यकामा पनि ठूलो वर्षा भएको थियो । ललितपुरको खुमलटारस्थित अटोमेटिक स्टेशनले एक घण्टामै ५४.८ मिलिमिटर वर्षा मापन गरेको थियो भने बिहानसम्म ५५.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ६०.५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

गत २४ घण्टामा डडेलधुराको ज्यामिरखालीमा सबैभन्दा बढी १४४ मिलिमिटर वर्षा भएको छ । कैलालीको बुढिआममा ११४.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसैगरी पूर्वी नवलपरासीको देउरालीमा ११७.२, पर्वतको पञ्चासेमा १००, धनकुटाको पाख्रिबासमा ८९.४, सिन्धुपाल्चोकको गोब्रेमा ८० तथा काठमाडौंको बबरमहलमा ७७ मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाडौं उपत्यकामा लगातारको वर्षापछि केही सडक जलमग्न भएका छन् । सडकमा पानी जम्दा सवारी आवागमन र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको थियो ।

मौसमविद महर्जनका अनुसार आइतबारदेखि मौसममा क्रमशः सुधार आउने सम्भावना छ । आइतबार पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भए पनि तराई क्षेत्रमा वर्षा कम हुँदै जाने अनुमान गरिएको छ ।

यस्तै जेठ १९ गतेपछि वर्षाको मात्रा अझै घट्दै जाने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु