पुलमुनि आश्रित चन्दन महतो र राजमार्ग क्षेत्रमा हिँड्ने देशीमाया दमिनीको उद्धार -भिडियो सहित

सन्तकुमार चौधरी-

कालिका । चितवनको कालिका नगरपालिका ले मानव सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउँदै सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका दुई जनाको उद्धार गरेको छ । नगरपालिकाको पहलमा लामो समयदेखि खगेरीखोलाको पुलमुनि बस्दै आएका कालिका नगरपालिका–५ पदमपुर निवासी चन्दन महतो तथा राजमार्ग क्षेत्रमा लाठी देखाउँदै हिँड्ने करिब ७० वर्षीया देशीमाया दमिनीलाई उद्धार गरी मानव सेवा आश्रम भरतपुर पठाइएको हो ।

लामो समयदेखि पुलमुनि असुरक्षित र कठिन अवस्थामा जीवन बिताइरहेका महतो तथा सडक क्षेत्रमा असहाय अवस्थामा हिँडडुल गर्दै आएकी दमिनीको अवस्था देखेपछि नगरपालिकाले उद्धार अभियान अघि बढाएको जनाएको छ । स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा नगर प्रमुखसहितको टोली उद्धारका लागि खटिएको थियो ।

उद्धार कार्यमा नगरपालिका प्रमुख विनोद रेग्मी, वडा नं. ५ का अध्यक्ष दीपकबहादुर भट्टराई, वडा नं. १ का अध्यक्ष सन्तबहादुर स्याङतान, वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेल, पदमपुर प्रहरी चौकीका इन्चार्ज, नगर प्रहरी तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी उद्धार अभियानमा मानवसेवा आश्रमको तर्फबाट केन्द्रीय सदस्य निता केसी स्वयं सहभागी हुनुभएको थियो । उहाँसहितको टोलीले दुवैजनालाई सुरक्षित रूपमा उद्धार गरी आवश्यक संरक्षण तथा हेरचाहका लागि मानवसेवा आश्रम भरतपुरको जिम्मा लगाएको हो ।

उद्धारपछि दुवैजनालाई स्वास्थ्य परीक्षण, खानपान, बसोबास तथा आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराइने आश्रमले जनाएको छ । मानव सेवा आश्रमले सडक आश्रित, सहयोगापेक्षी तथा बेसहारा नागरिकहरूको उद्धार, संरक्षण र पुनःस्थापनामा देशभर अभियान सञ्चालन गर्दै आएको छ ।

विशेष कुरा के छ भने, उद्धार अभियान सञ्चालन गरिएको अघिल्लो दिन मात्रै कालिका नगरपालिकालाई “मानव सहयोगापेक्षी मानवमुक्त सडक” घोषणा गरिएको थियो । उक्त घोषणापछि नगरपालिकाले व्यवहारमै अभियानलाई लागू गर्दै सडक तथा सार्वजनिक स्थानमा बेसहारा अवस्थामा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।

नगर प्रमुख रेग्मीले नगरभित्र कुनै पनि नागरिक सडक, पुल वा सार्वजनिक स्थानमा असुरक्षित रूपमा बस्न बाध्य नहोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तर अघि बढाइने बताउनुभयो । उहाँले स्थानीय सरकार, सुरक्षा निकाय र सामाजिक संघसंस्थाबीचको सहकार्यबाट मानव सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने पनि उल्लेख गर्नुभयो ।

स्थानीयवासीले नगरपालिकाको यस कदमलाई मानवीय संवेदनासँग जोडिएको सकारात्मक कार्य भन्दै प्रशंसा गरेका छन् । सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई सुरक्षित आश्रयमा पुर्‍याउने कार्यले समाजमा मानवता र सामाजिक उत्तरदायित्वको सन्देश दिएको उनीहरूको भनाइ छ ।—00—

Share:

सम्बन्धित समाचारहरु