रुपन्देही । पाल्पामा जंगली च्याउ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५ ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो ।
जंगली च्याउ खाएर बिरामी परेका उनीहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूसँगै जंगली च्याउ सेवन गरेका जिल्लाका एक दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन् । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
प्रहरीले वर्षायाममा जंगलमा पाइने अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।–00—


