सन्तकुमार चौधरी –
कालिका । कृषिलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेर अघि बढिरहेको कालिका नगरपालिका ले दुध उत्पादन गर्ने किसानहरूलाई प्रतिलिटर २ रुपैयाँ ६१ पैसाका दरले अनुदान वितरण गरेको छ । नगरपालिकाले नगरसभाहलमा बुधबार आयोजित विशेष कार्यक्रममा नगरक्षेत्रभित्र रहेका सात वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानहरूलाई एक करोड पाँच लाखभन्दा बढी रकम अनुदानस्वरूप वितरण गरेको हो ।
स्थानीय सरकार र प्रदेश सरकारको संयुक्त सहकार्यमा प्रदान गरिएको यो अनुदानले किसानहरूको मनोबल उच्च बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार प्रतिलिटर एक रुपैयाँ कालिका नगरपालिकाको तर्फबाट तथा प्रतिलिटर एक रुपैयाँ ६१ पैसा बागमती प्रदेश सरकारको तर्फबाट उपलब्ध गराइएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख विनोद रेग्मी ले कृषिक्षेत्रको विकासबिना “समृद्ध कालिका, सुखी कालिकाबासी” भन्ने नाराले सार्थकता नपाउने स्पष्ट पारे । उनले कृषि पेशालाई सम्मानित र व्यवस्थित बनाउँदै किसानहरूको जीवनस्तर उकास्ने उद्देश्यले नगरपालिकाले विगत केही वर्षदेखि दुध उत्पादनमा अनुदान दिने नीति अघि बढाएको जानकारी दिए ।

उनले कृषि क्षेत्रलाई केवल उत्पादनसँग मात्रै नभई रोजगारी, आत्मनिर्भरता र स्थानीय अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा हेरिएको बताए । -“हामीले कृषिलाई प्राथमिकतामा राखेका छौं । किसानहरूलाई प्रोत्साहन नगरी गाउँको अर्थतन्त्र बलियो बन्न सक्दैन,” नगरप्रमुख रेग्मीले भने, “दुध उत्पादनसँगै मौरीपालन, च्याउखेती, तरकारी खेती लगायतका व्यवसायिक कृषि पेशामा लागेका किसानलाई पनि नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।”

नगर उपप्रमुख विमला तामाङले किसानहरूको मेहनत र लगनशीलता प्रशंसनीय रहेको बताउँदै सीमित स्रोतसाधनका कारण मागअनुसार सबै प्रकारका अनुदान उपलब्ध गराउन नसकिएको स्वीकार गरिन् । तथापि किसानहरूको श्रमको सम्मानस्वरूप स्थानीय सरकार र बागमती प्रदेश सरकारको समन्वयमा अनुदान कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । “किसानहरूले बिहानदेखि बेलुकासम्म गरेको संघर्षको मूल्य राज्यले बुझ्नुपर्छ,” उपप्रमुख तामाङले भनिन्, – “हामीले सानो भए पनि उनीहरूको श्रमको सम्मान गर्ने प्रयास गरेका छौं । आगामी वर्षमा स्रोतसाधन बढे अझ धेरै सहयोग गर्न सकियोस् भन्ने चाहना छ ।”
उनले नगरपालिकाको कृषि शाखा किसानहरूको खेतबारीदेखि गोठसम्म पुगेर काम गरिरहेको उल्लेख गर्दै कृषि पेशालाई आधुनिक र व्यवसायिक बनाउन विभिन्न सामग्री तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई ले कालिका नगरपालिका दुध उत्पादनका हिसाबले सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित हुँदै गएको बताए । किसानहरूको मनोबल बढाउन उनीहरूको व्यक्तिगत खातामै रकम पुग्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले आगामी दिनमा सहकारीमा आबद्ध नभएका व्यक्तिगत किसानलाई समेत अनुदान कार्यक्रममा समेट्ने तयारी भइरहेको बताए ।- “हाल सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई मात्रै अनुदान दिइएको छ,” उनले भने, “तर व्यक्तिगत रूपमा दुध उत्पादन तथा बिक्री गर्ने किसानहरूलाई पनि आगामी कार्यक्रमहरूमा समावेश गर्ने लक्ष्य राखेका छौं ।”

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कालिका नगरक्षेत्रमा कुल ५८ लाख ७६ हजार ५ सय लिटर दुध उत्पादन भएको छ । यसमध्ये दुग्ध उत्पादक सहकारी संस्थामार्फत मात्रै ४० लाख २६ हजार ८ सय ९७ दशमलव ९३ लिटर दुध बिक्री भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
दुध बिक्रीबाट सहकारीमार्फत मात्रै करिब २९ करोड रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ । अन्य माध्यमसमेत जोड्दा कुल दुध बिक्रीबाट करिब ४१ करोड रुपैयाँ आम्दानी भएको अनुमान गरिएको छ । यसले कालिका नगरपालिकाको ग्रामीण अर्थतन्त्रमा दुध व्यवसायले महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।
अनुदान प्राप्त गर्ने सहकारी संस्थामध्ये सबैभन्दा धेरै रकम पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले प्राप्त गरेको छ । उक्त संस्थाले २९ लाख ६८ हजार ७ सय ९६ रुपैयाँ ७ पैसा अनुदान पाएको हो ।

त्यसैगरी मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले २७ लाख १५ हजार ५ सय ३० रुपैयाँ ६५ पैसा, उत्थान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले २१ लाख ३२ हजार २ रुपैयाँ ५१ पैसा, नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले १३ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ ९३ पैसा अनुदान प्राप्त गरेका छन् ।
यस्तै सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले ४ लाख १ हजार ३ सय ७९ रुपैयाँ ६३ पैसा, कञ्चन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले ३ लाख ८८ हजार १ सय ६६ रुपैयाँ १७ पैसा तथा भटेनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले ५ लाख ११ हजार २ सय ९९ रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै राजेन्द्र प्रसाद ढूंगानाले दुध व्यवसायले गाउँको पैसा गाउँमै टिकाउन ठूलो भूमिका खेलेको बताए । उनले किसानहरूले लामो समयदेखि अनेक संघर्षका बीच दुध उत्पादन गर्दै आएको स्मरण गरे ।
“एक समय यस्तो थियो, दुधको मूल्य नपाएर किसानहरूले सडकमा दुध पोख्नुपर्ने अवस्था थियो,” उनले भने, “तर अहिले अवस्था परिवर्तन हुँदै गएको छ । किसानको उत्पादनले बजार पाउन थालेको छ । अनुदानले किसानलाई थप उत्साहित बनाएको छ ।” उनले आगामी वर्षहरूमा अनुदान रकम अझ बढाउन नगरपालिकासँग मागसमेत गरे ।

स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरेपछि कालिका नगरपालिकामा व्यवसायिक दुध उत्पादनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको देखिन्छ । नगरपालिकाले कृषि क्षेत्रको विकासलाई रोजगारी सिर्जना, आर्थिक सशक्तीकरण र ग्रामीण समृद्धिसँग जोडेर हेरेको छ ।

विशेषगरी युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्ने उद्देश्यले आधुनिक कृषि प्रविधि, व्यवसायिक पशुपालन तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजनामा नगरपालिका रहेको जनाइएको छ ।अनुदान वितरण कार्यक्रम आर्थिक समितिका संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको थियो । –00—


