चितवन राष्ट्रिय निकुञ्जका तालतलैया सुक्दै : वन्यजन्तुको बासस्थान संकटमा

सन्तकुमार चौधरी –

चितवन, २२ बैशाख । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रका साना–ठूला ताल र सिमसार क्षेत्रहरू जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेका छन्।

निकुञ्जभित्र रहेका ५० भन्दा बढी प्राकृतिक तालतलैयाहरू बिस्तारै सुक्दै गएपछि यहाँका वन्यजन्तुको बासस्थान र सुरक्षाप्रति गम्भीर चिन्ता बढेको छ।

 
निकुञ्जका जलाशयहरू सुक्न थालेपछि यहाँ रहेका बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तुका साथै जलचर र थलचर प्राणीहरूको जीवन चक्रमा प्रत्यक्ष असर पर्ने देखिएको छ। पानीका स्रोतहरू रित्तिँदा वन्यजन्तुको विचरण र आहार–विहारमा समेत समस्या उत्पन्न हुन सक्ने संरक्षणकर्मीहरूले औंल्याएका छन्।

पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरका अनुसार निकुञ्जभित्रका तालतलैयाहरू संकटमा पर्नु निकुञ्जकै लागि ठूलो चुनौती हो। उनी भन्छन्, “तालतलैया सुक्नु भनेको निकुञ्जको मुख्य संरक्षण क्षेत्र नै संकटमा पर्नु हो”।

प्राकृतिक तालहरू सुक्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले यसको संरक्षण र पुनर्स्थापनाको प्रयासलाई तीव्रता दिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार हाल ‘देवीताल’ बाट संरक्षणको विशेष अभियान सुरु गरिएको छ।

जलाशयहरू संकटमा पर्नुको मुख्य कारणमध्ये बाढी पनि एक हो। नारायणी, राप्ती र रिउ खोलाले बगाएर ल्याएको गेग्रान र बालुवाका कारण तालहरू पुरिने क्रम बढेको संरक्षणकर्मीहरूको निष्कर्ष छ।

निकुञ्जभित्रका अमूल्य जलसम्पदा जोगाउन र दुर्लभ वन्यजन्तुको संरक्षण सुनिश्चित गर्न निकुञ्ज प्रशासनले दीर्घकालीन योजनासहित संरक्षणका कार्यहरू अघि बढाएको छ।

प्राकृतिक रूपमा तालहरू पुरिने र सुक्ने प्रक्रियालाई रोकी वन्यजन्तुका लागि उपयुक्त वातावरण बनाइराख्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ। –000–

Share:

सम्बन्धित समाचारहरु