चितवन । तमु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित तमु प्ये ल्हु संघ, चितवनले वृहत् साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ‘चितवन म्युजिक कार्निभल च्यारिटी फर क्व्होइबो’ नाम दिइएको कन्सर्ट बैशाख १८ गते शुक्रवार नारायणघाटस्थित क्याम्पाचौरमा आयोजना गर्न लागिएको जानकारी दिएको हो। २०६० सालमा स्थापना भएको संघले सुरुदेखि नै तमु जातिको इतिहास, पहिचान र सांस्कृतिक संरक्षणका विषयमा काम गर्दै आएको छ। तर, सीमित स्रोत र साधनका कारण संस्थागत विकासमा चुनौती देखिएपछि यसपटक विशेष पहलस्वरूप वृहत् साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्षले बताए।
कन्सर्टबाट संकलित रकमबाट संघको नाममा जग्गा खरिद गरी तमुहरूको धार्मिक आस्थाको केन्द्र ‘क्व्होइबो’ निर्माण गर्ने लक्ष्य राखिएको छ। आधुनिक प्रविधियुक्त समयअनुसार संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने दीर्घकालीन योजनाअन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
यसअघि संघले बुद्ध जयन्तीका अवसरमा नियमित कार्यक्रम आयोजना गर्दै आएको थियो। गत वर्षदेखि आर्थिक संकलनका लागि देउसी–भैलो खेल्ने तथा व्यक्तिगत सहयोग अभियान सञ्चालन गरिए पनि लक्ष्यअनुसार रकम संकलन गर्न कठिन भएपछि यसपटक ठूलो स्तरको कन्सर्ट आयोजना गरिएको हो।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। सफल आयोजनाका लागि टिकट बिक्री, प्रायोजन जुटाउने तथा विभिन्न निकायसँग समन्वयको काम तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ। दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकार तथा ब्यान्डहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा लोकप्रिय ब्यान्ड AXIX र गायक Lil Jhola को मुख्य प्रस्तुति रहनेछ भने KATAAV र YUGON जस्ता उदीयमान ब्यान्डहरूले पनि दर्शकलाई मनोरञ्जन दिनेछन्।
त्यसैगरी, मन्त्र घिमिरे, यमुना गुरुङ र पविन गुरुङ लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमले तमु प्ये ल्हु संघको संस्थागत विकासमा टेवा पुर्याउनुका साथै नवप्रतिभाहरूलाई साङ्गीतिक क्षेत्रमा स्थापित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने कन्सर्टमार्फत ९० लाख रुपैयाँसम्म संकलन हुने लक्ष्य राखिएको छ। प्रवेशका लागि साधारण टिकट ५०० रुपैयाँ, भीआईपी २,००० रुपैयाँ र गोल्डेन टिकट ५,००० रुपैयाँ निर्धारण गरिएको छ।
संघले पवित्र उद्देश्यसहित सञ्चालन गर्न लागिएको यस अभियानमा सबैलाई सहभागिता र सहयोगका लागि आह्वान समेत गरेको छ। –00–


