चितवन, ३० भरतपुर । चितवन फोटोग्राफी संघ, चितवनले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदानप्रदान, भित्ते पात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा आयोजना गरिएको थियो।
संघका अध्यक्ष हरिचन्द्र पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष देवेन्द्र गुरूङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संघद्वारा प्रकाशित भित्ते पात्रो विमोचन गरिएको थियो। उक्त क्यालेण्डरमा संस्थाको वार्षिक कार्ययोजना समावेश गरिएको अध्यक्ष पन्तले जानकारी दिए। उनका अनुसार आगामी दिनमा फोटोग्राफरहरूको क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गरिनेछ।

त्यसैगरी, साउन महिनामा सदस्यता तथा संस्था नविकरण, भदौ महिनामा फोटोग्राफर दिवसको अवसरमा प्रभातफेरी तथा तीज विशेष कार्यक्रम आयोजना गर्ने योजना रहेको छ। साथै अध्ययन अवलोकन भ्रमण, देउसी-भैलो, बनभोज तथा स्थापना दिवसजस्ता कार्यक्रमहरू पनि क्यालेण्डरमा समेटिएको छ। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघ को केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित श्रीराम कंडेल तथा सदस्य पदमा निर्वाचित धुब्र सापकोटा, विष्णुप्रसाद सापकोटा, विपिन खतिवडा, अनिशा शाक्य र राजु दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

यसैगरी, क्यालेण्डरमा विज्ञापन उपलब्ध गराउने विज्ञापनदाताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा अग्रज फोटोग्राफर ईश्वरी घिमिरे, प्रेस संयोजक शन्तकुमार चौधरी, निवर्तमान अध्यक्ष धुब्र सापकोटा, पूर्व अध्यक्षहरू लक्ष्मण गुरूङ र चन्द्रकान्त ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले वर्तमान समयमा बढ्दो महँगीसँगै फोटोग्राफी सेवाको मूल्य निर्धारण आवश्यक रहेकोमा जोड दिएका थिए। फोटो ल्याब र फोटोग्राफी संघबीच सहमतिमा नयाँ मूल्य निर्धारण गर्नुपर्ने धारणा उनीहरूले राखेका थिए।











