काठमाडौँ ,२५ चैत ।
प्रतिनिधिसभा सदस्य महावीर पुनले नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रमा व्याप्त ‘नातावाद र चाकरीवाद’लाई घातक भाइरसको संज्ञा दिँदै यसबाट मुक्त हुन सरकारलाई सुझाव दिनुभएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पुनले नेपालको विकासमा मुख्य बाधक नै यस्ता प्रवृत्तिहरू रहेको उल्लेख गर्नुभयो।
सांसद पुनले यो प्रवृत्ति आजको मात्र नभई इतिहासदेखि नै जकडिएर रहेको तर्क गर्नुभयो। उहाँले भन्नुभयो:- “नेपालमा एउटा खतरनाक भाइरस छ— त्यो हो नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद। यो भाइरस खासगरी नेपाल एकीकरणपछि रणबहादुर शाह नाबालक राजा भएको समयदेखि नै सुरु भएको हो।”
मुलुकमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र र गणतन्त्र आउँदा समेत यस्तो प्रवृत्तिमा कुनै कमी नआएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। शासन व्यवस्था बदलिए पनि शक्तिमा रहेकाहरूले आफ्ना नातागोता र चाकडी गर्नेहरूलाई मात्र अवसर दिने चलन अझै जीवित रहेको उहाँको टिप्पणी थियो।
सरकार र दलहरूलाई आग्रह
सांसद पुनले सरकार, राजनीतिक दल र स्वयम् सांसदहरूलाई पनि यस्तो ‘भाइरस’बाट बच्न र बचाउन आग्रह गर्नुभयो। देशलाई समृद्धिको दिशामा लैजाने हो भने क्षमता र योग्यतालाई प्राथमिकता दिएर चाकरी प्रथाको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। –00—


