सुवास घिमिरे –
चितवन, २४ चैत्र । होटल पौवा भरतपुरले आफ्नो स्थापना दिवस र दशौं वार्षिकोत्सवको अवसरमा विशेष “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्न लागेको छ।
होटलका महाप्रबन्धक राम प्रसाद रेग्मीका अनुसार, यो उत्सव यही चैत २६, २७ र २८ गतेसम्म होटलको मुख्य परिसरमा सञ्चालन हुनेछ। उनले बताएअनुसार, “स्वाद उत्सव” केवल भरतपुर शाखामा मात्र नभई देशभरका पौवाका अन्य शाखाहरूमा पनि एकैसाथ आयोजना हुनेछ। यसबाट ग्राहकहरूलाई फरक–फरक परिकारको स्वाद अनुभव गराउने उद्देश्य रहेको छ।
उत्सवको प्रत्येक दिन हरेक ग्राहकलाई दुई प्रकारका विशेष स्वाद (एउटा भेग र अर्को नन–भेग) का परिकार उपलब्ध गराइनेछ।
सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै होटलले स्थापना दिवसको पूर्वसन्ध्यामा, चैत्र २५ गते, भरतपुर–३ वेलचोकस्थित मानव सेवा आश्रममा आश्रितहरूलाई निःशुल्क भोजन वितरण गर्ने कार्यक्रम पनि तय गरेको छ।
त्यसैगरी, नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ “शुभकामना साँझ २०८३” कार्यक्रम आयोजना गरिने छ। यस कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने भएको छ, जसले उत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउने विश्वास गरिएको छ।
होटल पौवाले आयोजना गर्ने यी कार्यक्रमहरूले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय खानाका परिकारको प्रचार–प्रसार र ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा राखेको जनाएको छ।
–00–


