काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा (एमाले) ले त्यसको विरोधमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। पार्टीका सचिव महेश बस्नेतका अनुसार देशभरका जिल्लामा चरणबद्ध रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।
एमालेले सार्वजनिक गरेका मुख्य निर्णयहरू यस्ता छन्–
१. आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. आज अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी शासनको पक्षमा रहेका अन्य दलहरूसँग संवाद र सहकार्य गर्ने, साथै नागरिक समाजसँग पनि सहकार्य विस्तार गर्ने।
यसैबीच, ललितपुरको च्यासलस्थित पार्टी सचिवालय बैठक जारी रहेका बेला काठमाडौंको चाबहिल क्षेत्रमा एमाले कार्यकर्ताहरू भेला भई विरोध प्रदर्शन गरेका थिए।
उल्लेखनीय छ कि जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले आज बिहान अध्यक्ष ओलीसहित कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको हो। –00—

