आज मध्यरातिदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (फागुन २०) मध्यरातिदेखि देशभर अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

निर्वाचन सुरक्षालाई कडाइ गर्न निर्वाचन आयोग को सिफारिसअनुसार सरकारले राति १२ बजेदेखि भोलि साँझ ५ बजेसम्म सवारी आवागमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदान कार्य सम्पन्न नहुन्जेलसम्म सवारी सञ्चालनमा निषेध गरिनेछ। “आज राति १२ बजेदेखि भोलि साँझ ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। अति आवश्यक सेवाबाहेक अन्य सवारी चलाउन पाइने छैन,” उनले भने।

आयोगले एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनलाई सञ्चालन अनुमति दिएको छ। साथै कूटनीतिक नियोगका नीलो प्लेट भएका सवारी तथा आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पासप्राप्त सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

आयोगले मतदाता तथा यात्रुहरूलाई आवश्यक परे सवारी बन्द हुनुअघि नै गन्तव्यमा पुग्न अनुरोध गरेको छ। निर्वाचन अवधिमा कुनै समस्या परे नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु