चितवन । सामाजिक सञ्जालमार्फत एआई ‘डीप फेक’ भिडियो पोस्ट गरी अफवाह फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन ले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर पार्ने उद्देश्यले भारतीय प्रधानमन्त्रीको नाम जोडेर एआईबाट बनाइएको ‘डीप फेक’ भिडियो सामाजिक सञ्जालमा प्रसारण गरिएको पाइएको हो।
उक्त गतिविधिमा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका–१६ का नन्द प्रसाद भट्टलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साइबर ब्युरोको प्राविधिक सहयोगमा अनुसन्धान गर्दै उनलाई भरतपुर–१० स्थित क्षेत्रबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन सबैलाई सचेत रहन आग्रह गरिएको छ।
विज्ञप्तिमा यस्ता गतिविधिले समाजमा द्वेष र भ्रम फैलाउने भएकाले कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ। –00–

