रमाइलो आमा समूहको सक्रियताले माडीको समाज र संस्कृति समृद्ध बनाउँदै

रेशम सापकोटा
माडी । माडी नगरपालिका–७ देवेन्द्रपुरमा रहेको रमाइलो आमा समूहले धार्मिक, सांस्कृतिक, सामाजिक र वातावरणीय क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। हरेक महिनामा पर्ने एकादशीमा सदस्यहरूले स्थानीय घर र मठ–मन्दिरमा साँझपख भजन–कीर्तन सञ्चालन गर्ने गर्दछन ।

धार्मिक पर्वअनुसार मठ–मन्दिरमा भजन–कीर्तन आयोजना गर्दा समुदायमा आपसी सहयोग र आत्मीयता बढेको छ।
समूहले बाटो–टोल सरसफाई गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याइरहेको छ।

असहाय र बिरामीलाई आर्थिक सहयोग, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई स्वागत, आफ्ना सदस्यहरूको विवाह तथा व्रतबन्धमा सामूहिक उपहार प्रदान गर्ने, विभिन्न सामाजिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने जस्ता गतिविधिहरू समूहले गर्दै आएको छ।

समूहकी अध्यक्ष सरस्वती काफ्लेले भन्नुभयो, समुहमा काम गर्दा छिमेकीसँगको सम्बन्ध अझ निकट हुन्छ। सदस्यहरूले मनका सुख–दुःख कुराहरु शेयर गर्दा मन हलुका हुनुका साथै, समस्या समाधान गर्न मद्दत मिल्ने,धार्मिक र सामाजिक गतिविधिमा सक्रियताले जिम्मेवारीको भावना बढाउँछ र समाजमा आत्मीयता, एकता र सहयोगको वातावरण तयार हुन्छ। स–साना कदमले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने अनुभव हामीले बटुलेका छौँ।

उपाध्यक्ष राधादेवी अधिकारीले भन्नुभयो, “महिला सदस्यहरूले आफ्नै क्षमता बुझेर सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रममा सक्रिय भूमिका खेल्दा समुदायमा एकता कायम भएको छ । समूहमा भाग लिनुले महिलाहरूमा आत्मबल बढी सकारात्मक योगदान दिने उत्साह मिलेकोछ ।

समूहगत सहभागिताले सदस्यहरूमा बोल्ने क्षमता, सहकार्य र आत्मबल बढेको छ, जसको कारण समाजमा सकारात्मक प्रभाव परेको महसुस मिलेको धारणा व्यक्त गर्नुहुन्छ समुहकी सचीव चन्द्र पौडेल।

भजन–कीर्तनबाट प्राप्त हुने रकमले समूहमा आवश्यक सामग्री खरिद र कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याएको छ। यसले महिला सदस्यहरूलाई जिम्मेवार र सक्रिय बनाएको छ कुरा बताउनु हुन्छ कोषाध्यक्ष मिना अधिकारी ।

“रमाइलो आमा समूहले निरन्तर सक्रियता देखाउँदै समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। समूहका कार्यक्रमहरूले छिमेकी सम्बन्ध, सहयोग र सामाजिक एकता बलियो बनाएका छन्। यस्ता सामाजिक कामहरू हरेक टोल–टोलमा हुनु जरुरी छ। आगामी दिनहरूमा नगरको विकासका लागि यस समूहसँग सहकार्य गर्दै सामाजिक काम गर्न नगरपालिका तयार रहेको धारणा व्यक्त गर्नु हुन्छ माडी नगरपालिकाकी मेयर तारा कुमारी काजी महतो।
रमाइलो आमा समूहको यस्ता कामले स्थानीय समाजमा सामाजिक, धार्मिक, सांस्कृतिक र वातावरणीय योगदान पुग्नुका साथै समुदायमा एकता, आत्मीयता र सहयोगको संस्कार प्रवर्धन गर्न सहयोग मिलेको देखिन्छ । –00–

Share:

सम्बन्धित समाचारहरु