नेपालको राजनीतिमा “बा” भनेर चिनिने केपी शर्मा ओली प्रति समर्थन र भरोसा व्यक्त गर्दै, जापानमा सफल व्यवसायी तथा समाजसेवी सुरेन्द्र गिरि (रोहन) ले खुला पत्र सार्वजनिक गरेका छन्।
आफूलाई देशलाई अभिभावकझैँ माया गर्ने एक युवाको रूपमा परिचित गराउँदै उनले नेपालको लोकतान्त्रिक इतिहासमा ओलीले पुर्याएको योगदान स्मरण गरेका छन्। पत्रमा उनले लेखेका छन् कि ओलीको जीवन “साधारण राजनीतिक यात्रा नभई त्याग, संघर्ष र अडानले लेखिएको अध्याय” हो। लोकतान्त्रिक आन्दोलनका क्रममा १४ वर्ष जेल जीवन व्यतित गरेको प्रसंग उल्लेख गर्दै उनले त्यस समयलाई “देशकै अँध्यारो कालखण्ड” भनेका छन्।
प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा पूर्वाधार विकास, राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताको एजेन्डालाई राज्यको नीति बनाएको दाबी पत्रमा गरिएको छ। साथै भारतद्वारा लगाइएको नाकाबन्दीको समयमा देखाएको अडान र दृढतालाई उनले “इतिहासमा अमिट रहने साहस” का रूपमा चित्रण गरेका छन्। पछिल्लो JNG आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गिरिले प्रधानमन्त्रीका रूपमा कमजोरी हुन सक्ने स्वीकार गर्नुपर्ने बताएका छन्। तर, ओलीले प्रत्यक्ष निर्देशन दिएर कसैको हत्या गराएको भन्ने आरोप “झुटो र प्रमाणविहीन” रहेको उनको भनाइ छ।
“इतिहास हेडलाइनले होइन, त्याग र योगदानले लेखिन्छ,” पत्रमा उल्लेख छ। पत्रको अन्त्यमा उनले यसलाई “नारा होइन, एक छोराको भरोसा” भन्दै आदर, माया र गर्वसहित आफ्नो समर्थन व्यक्त गरेका छन्। सुरेन्द्र गिरि (रोहन) हाल जापानमा व्यवसाय सञ्चालन गर्दै आएका छन् र आफूलाई नेकपा एमालेप्रति सदैव प्रतिबद्ध रहने बताउँदै आएका छन्।


