रेशम सापकोटा
चितवन । पर्वत जिल्लाको साविक थापाथाना गाउँ विकास समिति वडा नम्बर ३ गहते, हाल फलेबास नगरपालिका–२ मा २०१६ साल कार्तिक २८ गते सामान्य खेतीकिसान परिवारमा जन्मिएका देवी प्रसाद पौडेल आज चितवनको जितपुर बजारमा “ढाका टोपी बुवा” नामले चिनिन्छन्। बुवा पशुपति पौडेल र आमा धनकुमारी पौडेलका छ सन्तानमध्ये पाँचौँ सन्तानका रूपमा जन्मिएका उनी बाल्यकालदेखि नै अभाव, संघर्ष र जिम्मेवारीका पर्याय बने।
उनको बाल्यकाल सहज थिएन। घरगाउँमा वर्षभरि खाने उब्जनी हुँदैनथ्यो। स्याङ्जाबाट खच्चडमा बोकेर खाद्यान्न ल्याएर खाने दिनहरू अझै पनि उनको मानसपटलमा ताजै छन्। कट्टु र चप्पल लगाएर विद्यालय जाँदा आफूलाई ठूलो सपना बोकेको बालक ठान्थे, तर विद्यालय छुटेपछि आमालाई घरायसी काममा सघाउने जिम्मेवारी सानै उमेरमा काँधमा आयो। राष्ट्रिय प्राथमिक विद्यालय थापाथानामा कक्षा पाँचसम्म अध्ययन गरे पनि आर्थिक अभावकै कारण पढाइलाई निरन्तरता दिन सकेनन्।

१२ वर्षको उमेरमै बुवालाई गुमाएका उनले आमाबाटै बाबु र आमाको दुवै माया पाए। पढाइ छुटेपछि बिहान–बेलुका आमाको पछिपछि लागेर काममा सघाउनु नै उनको दैनिकी बन्यो। त्यतिबेला गाउँका प्रायः प्रत्येक घरबाट एकजना भारतीय सेनामा भर्ती हुन्थे। सानैदेखि मनमा एउटा सपना पलायो—“म पनि भारतीय सेनामा भर्ती हुन्छु।” त्यही इच्छालाई मुटुमा बोकेर १९७७ मा उनी बनारस पुगे र 5/3 जीआर (गोरखा रेजिमेन्ट) मा भर्ती भए। सेनामा रहँदा उनी बक्सिङ खेलाडीका रूपमा पनि सक्रिय थिए। तर नियतिले उनलाई लामो समय त्यहाँ टिक्न दिएन।
मद्रासबाट खेल खेलेर फर्किएका बेला ब्यारेकका हाकिमले दरबार परेडमा थप ड्युटी गर्न आदेश दिए। दैनिक दुई घण्टा ड्युटी गरिसकेका उनलाई अर्को साथी अनुपस्थित भएको भन्दै थप एक घण्टा ड्युटी गर्न भनियो। थाकेको शरीर र मनले “म गर्दिन” भन्ने साहस देखायो। त्यसपछि भएको हातपातमा बन्दुकको बटले प्रहार गर्दा डिप्टीवालाका तीनवटा दाँत झरे। घटनापछि कारबाहीको डरले उनी १९८४ मा सेनाबाट अलग भए।

सेनाबाट फर्किएपछि खेतीकिसान, भारतमा मजदुरी र घर निर्माणको ठेक्का जस्ता काम गर्दै जीवन अघि बढ्यो। तर २०४६ सालतिर अर्को ठूलो घटना आयो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकसँग विवाद हुँदा नजिकैको रड प्रहारबाट इन्सपेक्टरको खुट्टाको दुई हड्डी भाँचियो। त्यसपछि उनीमाथि अन्य मुद्दासहित बैंक चोरीको आरोपसमेत लगाइयो। भारतमा रहँदा घरमा अदालतको पत्र आएपछि नेपाल फर्किए र पक्राउ परे। २८ महिना जेल जीवन बिताए। जेलमै नाम्ला बुनेर करिब ३० हजार रुपैयाँ जम्मा गरे। पुनरावेदनपछि अन्ततः सफाइ पाए।
यसअघि सेनामै रहँदा उनको विवाह भइसकेको थियो। तीन सन्तान—एक छोरी र दुई छोरा—जन्मिसकेका थिए। तर २०५१ सालमा श्रीमतीको हर्टअट्याकबाट निधन भयो। छ वर्षको छोरा, आठ वर्षकी छोरी र चार वर्षको सानो छोरा टुहुरा बने। जीवनको यो बज्रपातले उनलाई भित्रैदेखि चकनाचूर बनायो। २०५३ सालमा पर्वत भगरा की पार्वती रिजालसँग दोस्रो विवाह भयो। २०५४ सालमा एउटा छोरा जन्मियो। २०५५ साल पौष १४ गते परिवारको जिम्मा आमालाई सुम्पेर उनी वैदेशिक रोजगारीका लागि इराक गए। २०५९ सालमा नेपाल फर्किँदा अर्को वज्रपात पर्खिरहेको थियो—श्रीमती अर्कैसँग गइसकेकी थिइन्। विदेशमा पसिना बगाएर परिवारलाई सुखी बनाउने सपना बोकेर फर्किएका उनलाई फेरि नियतिले धोका दियो।

२०५९ साल वैशाखमा गीता पौडेलसँग तेस्रो विवाह भयो। चार महिना घर बसेर फेरि कुवेत लागे। सोही वर्ष चैतमा छोरी जन्मिइन्। २०६२ तिर नेपाल फर्किँदा देशमा जनआन्दोलन र द्वन्द्व चर्किएको थियो। “कि आन्दोलनमा हिँड, कि छोरा पठा” भन्ने धम्की सुन्नुपर्यो। जेठो छोरालाई जोगाउन भारततर्फ साइकल चढेर ठोरीसम्म पुगे। माहिलो छोरालाई वैदेशिक रोजगारीमा पठाए। शान्ति प्रक्रियापछि परिस्थिति सहज भयो। २०४८ सालतिर सहपरिवार चितवन झरेका उनी दिदी–भेनाजुको घरमा बसेका थिए । २०४९ सालमा आमाले अंशबापत दिएको ५० हजार रुपैयाँबाट जितपुरमा १० कठ्ठा जग्गा ३० हजारमा किने। बाँकी पैसाले घर बनाए। जेल जीवनबाट निस्केपछि महको व्यापार गर्दै भैरहवा–बुटवलसम्म बोकेर बेच्न पुगे। साथै सामुदायिक वनमा चौकीदारको काम पनि गरे। त्यहाँ काठ चोरीको विषयमा भएको झगडाले कुटपिट र घाइते अवस्थासम्म पुर्यायो। संघर्ष र चोटहरू निरन्तर आइरहे।
एक दिन मालपोत कार्यालय चितवन नजिकै कसैले दिव्यनगरतिरको जग्गा किनबेचको कुरा सुनायो। १ लाख ४० हजारमा एक बिघा किने र ३ लाखमा बेचे। त्यहीँबाट उनको आर्थिक अवस्था उकासिन थाल्यो। त्यसपछि पूर्ण रूपमा जग्गा व्यवसायमा लागे। रामपुरदेखि जितपुर–मेघौलीसम्म करिब १००० बिघा जग्गा खरिद–बिक्री गरिसकेका छन्। “धर्ती मातामा लगानी गर्दा डर लाग्दैन,” उनी भन्छन्। तर असफलता पनि आयो—अत्यन्त विश्वास गरेको एक व्यक्तिले ६५ लाख रुपैयाँ लिएर फरार भयो।

तर सबैभन्दा ठूलो पीडा २०७८ सालमा आयो। २०७७ साल १२ महिना १५ गते ७ लाख खर्चेर इन्द्रेणी टिम ल्याएर जन्मदिन मनाइएकी छोरी, जसलाई उनी ३२ लक्षणले युक्त भन्थे—सधैँ हाँसिरहने, कहिल्यै नरिसाउने—गैँडाकोट विजयचोकमा ट्रकसँग ठक्कर खाँदा गम्भीर घाइते भइन्। २४ घण्टा सीएमसी चितवन र त्यसपछि हेलिकप्टरमार्फत मेडिसिटी काठमाडौँ लगियो। १४ दिनमा ४५ लाखभन्दा बढी खर्च भयो, तर छोरीलाई बचाउन सकिएन। छोरीका शब्द आज पनि उनको कानमा गुञ्जिरहन्छन्—“बुवा, म अस्ट्रेलिया गएर दुई वर्ष बस्छु। साइन्स पढिसकेपछि १८ वटा ढोका खुलेका छन्। फर्केर आएर नामअघि डाक्टर लेखेर तपाईंलाई असल डाक्टरको बाबुआमा भनेर चिनाउँछु।” यी शब्द सम्झँदा उनको आवाज अवरुद्ध हुन्छ, आँखा रसाउँछन्।

पहिलाका दुई श्रीमती, आमा र छोरी सबैले साथ छोडिसके। तर अहिलेकी श्रीमतीले उनलाई साथ दिइरहेकी छिन्। तीन वर्षकी कान्छी छोरीलाई चम्चाले खाजा खुवाउँदै जीवनका संघर्ष सुनाउँदा उनी भन्छन्, “जीवन संघर्ष रहेछ बाबु। मैले सानो उमेरमै बुवा गुमाएँ। आमालाई सुखका साथ राख्न सकिनँ। समयले कतिबेला के हुन्छ थाहा हुँदैन।” आज उनी विभिन्न संघसंस्थामा आबद्ध छन्। प्रहरी कार्यालय, धर्मशाला, मठमन्दिर, जग्गादानजस्ता सामाजिक कार्यमा सक्रिय छन्। “ढाका टोपी बुवा” नामले परिचित हुनुको कथा पनि रोचक छ। पर्वतबाट चितवन झर्दा लोकगीत गाउन जाँदा सधैँ ढाका टोपी लगाउने गर्थे। गाउँलेले भन्न थाले—“ढाका टोपी आउँछ भने गीत गाउन जाने।” त्यही उपनाम स्थायी बन्यो।
उनको सन्देश स्पष्ट छ—“युवाहरूले इमान्दारीका साथ काम गर्नुपर्छ। समयले मान्छेलाई कहाँ पुर्याउँछ थाहा हुँदैन। सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य र सन्तुष्टि हो।”
आज उनी गर्वका साथ भन्छन्, “मुख र मुठ्ठी लिएर आएको मान्छे, आज घर छ, जग्गा छ, परिवार छ। कसैलाई नराम्रो गरेको छैन। सत्कर्म गर्दै जानुपर्छ, भगवानले हेर्नुहुन्छ।” देवी प्रसाद पौडेल (ढाका टोपी) को जीवन केवल संघर्षको कथा होइन—यो आशा, आँसु, पुनःउत्थान र इमान्दारीको जीवित इतिहास हो। उनका जीवनका पानाहरू पल्टाउँदा कहिले हर्षका आँसु झर्छन्, कहिले पीडाका। तर अन्ततः एउटा सत्य उजागर हुन्छ—संघर्षले मानिसलाई भाँच्दैन, अझ मजबुत बनाउँछ । –00–


