टिकटक विवादपछि मधेशमा तनाव, आठ जिल्लामा सुरक्षा सतर्कता

जनकपुरधाम । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा भएको घटनाको असर पर्साको वीरगञ्जसम्म फैलिएको छ।

धनुषा र पर्सासहित मधेश प्रदेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थिति’ उत्पन्न हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए। केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमा भारत (हिन्दुस्तान) को नाम उल्लेख गर्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको रहेको भन्दै स्थानीय अगुवाहरूले दुवै जनालाई प्रहरीको जिम्मा लगाएका थिए।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेको बेला ती युवाहरूलाई पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशित बनेका थिए। सोही क्रममा मस्जिदमा आक्रमणसमेत भएको थियो। मस्जिद आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए। घटनामा संलग्न सबै पक्षमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

उक्त घटनाको विरोधमा पर्साको वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ। प्रदर्शनका कारण केही स्थानमा यातायात प्रभावित भएको छ भने सुरक्षा निकाय उच्च सतर्कतामा परिचालित छन्। प्रहरी प्रशासनले अफवाहमा नपर्न र सामाजिक सञ्जालमार्फत धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु